प्रकाशित : १३ माघ २०७५, आईतवार १६:५४


विराटनगर १३ माघ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन अभियान सञ्चालनका लागि कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई आज सद्भावना दुतमा नियुक्त गरेको छ ।
सवै उमेर वर्ग र समुदायका जनतामा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरुको बारेमा स्वास्थ्य सञ्चारका वैज्ञानिक विधिहरु मार्फत ज्ञान, धारणा, व्यवहार परिर्वतन एवं जीवन शैली अवलम्वन गर्न अभिपे्ररित गरि पूर्ण सरसफाई एवं स्वस्थता प्रवद्र्धन गर्ने उद्देश्यले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई सद्भावना दुतमा एक बर्षका लागि नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले जानकारी दिनुभयो ।
मन्त्रालयले व्यक्तिगत रुपमा पान गुट्खा लगायतका सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने, नियमित योग गर्ने, स्वस्थ र पौष्टिक खाना खाने, चर्पीको पहुँच र प्रयोगमा विस्तार हुने लगायतका प्रतिफल सद्भावना दुतबाट प्राप्त हुने अपेक्षा लिएको निमित्त सचिव दाहालले बताउनुभयो ।
सद्भावना दुत नियुक्तीका लागि सम्झौता कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अभियान प्रभावकारी रुपमा एक वर्ष सञ्चालन हुने बताउनुभयो ।
उहाँले स्वस्थ नागरिक निर्माण र प्रदेश निर्माण अभियानमा महत्वपूर्ण आधार निर्माण हुने बताउनुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोग लाग्न नदिने उपायको खोजीका लागि मन्त्रालय लागेको बताउनुभयो । उहाँले मन्त्रालयले सरसफाईलाई उच्च प्राथमिकतामा राखेको काम गरिरहेको बताउनुभयो ।
सद्भावना दुत सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य जीवन प्रवद्र्धनका लागि मन्त्रालयले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि नेपाल सरकारले सन २०१५ मा सद्भावना दुत नियुक्त गरेको बताउनुभयो ।
सम्झौता कार्यक्रममा उहाँले चर्पी तह लगाउने अभियान शुरु भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयले गत बैशाख १ गते स्वास्थ्य प्रर्वद्धन वर्ष घोषणा गरेको थियो ।