प्रकाशित : १३ माघ २०७५, आईतवार १५:२३


विराटनगर १३ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरमा सप्ताहव्यापी निः शुल्क बृहत योग शिविर आज विहानबाट सुरु भएको छ ।
‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराका साथ सुरु भएको योग शिविरको १ नम्बर प्रदेशका प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले उद्घाटन गर्नु भयो । विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा सुरु भएको योग शिविरको उद्घाटन पछि बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको बताउनु भयो ।
प्रदेशका नागरिकहरुको जीवन स्वस्थ्य रहोस् भन्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम भएको उहाँको भनाइ छ । सामाजिक विकास मन्त्री घिमिरेले व्यायमलाई अभिन्न अंग बनाउने, हरेक बालबच्चाहरुलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफूहरु लागेको बताउनु भयो । योगको महत्व दर्शाउँदै उहाँले योगलाई अभियानको रुपमा प्रदेशका टोल– टोल, बस्ती– बस्तीमा पु¥याउने बताउनु भयो ।
उहाँले शिविरमा सहभागी हुन कक्षा ९ सम्म अध्ययनरत तीन हजार विद्यार्थीहरुले नाम दर्ता गराएको पनि जानकारी दिनु भयो । कलाकार सीताराम कट्टेल(धुर्मुस)ले योगामा सहभागीहरुलाई पेट मिची मिची हँसाउनु भयो ।
उहाँले स्वस्थ्य रहन हरेक दिन योगा गर्न आग्रह गर्नु भयो । योग शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकहरुले योगा गराएका थिए भने मन्त्री जिवन घिमिरे, सिताराम कट्टेल(धुर्मुस), विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी तथा हजारौँको संख्यामा उपस्थितहरुले योगा गरेका छन् ।
बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीहरुका लागि शिविर संचालन मन्त्रालयले जनाएको छ । शिविरमा सहभागी हुनेहरुका लागि विराटनगरका विभिन्न ८ स्थानमा बस सेवा पनि संचालन गरिएको छ । योग शिविर माघ १९ गतेसम्म चल्ने छ ।