प्रकाशित : १२ माघ २०७५, शनिबार १५:४९


विराटनगर, १२ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले ५४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । बैंकले स्थापना दिवसको अवसरमा अन्तरक्रिया गरेको छ ।
५४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कार्यालयले आफू मातहत ६ लाख २० हजार ग्राहक पुगेको क्षेत्रीय कार्यालय उपप्रबन्धक गायत्रीप्रसाद गुरागाईंले बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २७ अर्ब ५८ करोड निक्षेप संकलन गरी १९ अर्ब २२ करोड कर्जा लगानी गरेको गुरागाईंले जानकारी दिनुभयो ।
३१ वटा एटिएम सञ्चालनमा छन् भने ४ वटाको मेसिन आइसकेकाले केही हप्ताभित्रै सञ्चालनमा आउने बताइएको छ । वीएलवी काउन्टर १५ ठाउँमा सञ्चालन भइरहेका छन् । शिक्षित युवा स्वरोजगार, महिला उद्यमशीलता, विदेशबाट फर्किएका युवा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितका लागि निजीस् आवास निर्माणका लागि कर्जा प्रवाह गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा कार्यालय रक्तदान, अन्तरक्रियालगायतका कार्यक्रम गरिएको विराटनगर शाखाका प्रबन्धकसमेत रहेका कार्यक्रम संयोजक दुष्यन्तराज निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योगी जगदीश अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, प्रमुख जिल्ला अधिकारी रमेश केसी, एसपी मनोज केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।