प्रकाशित : ९ माघ २०७५, बुधबार १७:३८

विराटनगर ९ माघ । सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत कार्यालय विराटनगरको स्थिती अन्य कार्यालयको तुलनामा भिन्न छ ।
त्यहाँ पुग्ने जो कोही पनि सेवाग्राहीले कर्मचारीलाई कमिसन बापत ‘भेटी’ बुझाएपछि मात्रै काम बन्छ ।

कमिसन नदिनेको कामै बन्दैन । मोरङको ग्रामथान गाउँपालिका १ लखन्तरीका भैरव माझी दृष्टीबन्धक फुकाउन मालपोत कार्यालय विराटनगर पुग्नुभयो । उहाँको काम गर्न कर्मचारीले आलटाल गरे ।

माझीले लामै सास्ती बेहोर्नु प¥यो । झन् कम्प्युटर शाखाबाट त कामको मेलै सरेन । दलाल विनानै काम गर्न खोजेका उनले कम्प्युटरमा इन्ट्री गराउन तीन घण्टा पालो पर्खदा पनि पाएनन् । ‘म आफ्नो काम गराउन तीन घण्टादेखि लाइनमा बसिरहेको छु । मेरो कामै गरिदिंदैनन्,’ मालपोतमै भेटिएका उनले भने, ‘तर अरुको चैं दलाल आएर फटाफट काम गरेर जान्छन् । मेरो चैं किन ढिलो गरिदिएको भनेर सोध्यो भने उल्टै हप्काउँछन् ।’

उनी लाइनमा बसिरहँदा सेवाग्राही र दलालको ओहोरदोहोर निक्कै बाक्लो थियो । फाइल लिएर आउने दलाललाई पनि कम्युटरमा इन्ट्री गराउन सहज थिएन । फाँटका कर्मचारीलाई पाँचसय रुपैयाँ बुझाएपछि मात्रै उनीहरुको पनि काम बनिरहेको माझीले झलझली देखे । पैसा नबुझाउँदा कर्मचारीले दलालकै काम पनि अल्झाइदिन्थे ।

मालपोतको कम्युटर साखामा तीन जना कर्मचारी छन् । कम्यूटर प्रणालीमा दर्ता गराउन पैसा लाग्दैन । तर कार्यालयका कर्मचारी पैसा विना कसैको काम गर्दैनन् । कमिसन नदिने सेवाग्राहीको काम दुई दिन सम्म लम्बिन्छ । माझीले पनि कम्युटर शाखामा ‘भेटी’ चढाएपछि भने कामले गति लियो । उनको काम तत्काल बन्यो । माझी आफै लेखापढी व्यवसायी हुन् । ‘पैसा दिनेहरुको काम तत्काल बन्यो,’ उनले भने, ‘मैले तीन घण्टामा पनि गराउन सकिंन ।’

कम्युटर शाखामा मात्र नभई मालपोतमा दर्ता चलानी बाहेकका साखामा कमिसन नबुझाए सम्म सहज रुपमा काम बन्दैन । जहदा गाउँपालिका ६ का रामनारायण मण्डलले जग्गा हालसावी गर्दा पनि कर्मचारीलाई अतिरिक्त शुल्क बुझाउनु प¥र्याे । उहाँले १२ हजार कर बाहेक तीन हजार रुपैयाँ लेखनदासमार्फत कर्मचारीलाई बुझाउनुभयो ।

मालपोत कार्यालयमा कर्मचारीले एक सयदेखि दुई हजार रुपैयाँ सम्म कसिमन लिने गरेका छन् । कर्मचारीको कमिसन चक्कर सेवाग्राहीले भने निक्कै सास्ती पाउने गरेका छन् । एक सेवाग्राही भन्दै थिए, ‘सेवाग्राहीको सहज पहुँचमा नभए मालपोत कार्यालयमा कमिसन नदिई काम गर्न गाह्रो हुँदो रहेछ । घूस नदिए काम नै बन्दैन ।’

‘फाँटमा पूर्जा बनाए एक सयदेखि पाँच सयसम्म लिन्छन्,’ एक लेखापढी व्यवसायीले भने, ‘पैसा नदिए हाम्रोपनि काम बन्दैन् ।’ उहाँले कर्मचारीले फाँटै पिच्छे पैसा लिंदा सेवाग्राही हैरान बन्ने गरेको बताए । उहाँले अनलाइनका कर्मचारीले पाँच सयदेखि दुई हजार रुपैयाँ सम्म लिने गरेको बताउनुभयो । मालपोत कार्यालयमा पुग्दा घूसको लेनदेन भएको राम्ररी देख्न र भोग्न पाइन्छ । खुल्लेआम लेनदेन हुँदा पनि सम्बन्धीत निकायको नजर मालपोतमा भने पर्न सकेको छैन ।

नियमअनुसार कार्यालय भित्र बिचौलियालाई प्रवेश निषेध छ । तर कार्यालयमा सेवाग्राहीले भन्दा बढी विचौलियाले पालो पाउँछन् । विराटनगर मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट छ । तर लेखापढी कानुन व्यवसायी संघ विराटनगरका अध्यक्ष उमेश श्रेष्ठ लेखापढी गर्नेलाई सबै तिर छुट नभएको बताउँछन् । कार्यालयले सबै तिर प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो । तर सेवाग्राहीको काम गर्न असहज भएको बेला विचौलिया प्रवेश गर्ने गरेको बताइएको छ । श्रेष्ठका अनुसार मालपोतमा दुई सय ५० लेखापढी कानुन व्यवसायीहरु छन् ।

लेखापढी गर्नेहरुले नै कर्मचारीसम्मलाई सेटिङ मिलाएर सेवाग्राहीको काम गराइदिन्छन् । कुनै कुरामा लेखापढी गरिदिन प¥यो भने आफैबाट पैसा लिन सुरु गर्ने लेखापढी व्यवसायीमार्फतै कर्मचारी सम्मलाई घूस पुग्ने गरेको हो । ‘लेखापढी व्यवसायीमार्फत नजाने र घूस नबुझाउनेको यहाँ काम नै छैन,’ विराटनगरका सुदीप लम्सालले भन्नुभयोे, ‘यति साह्रै खुल्लेआम घूस र कमिसन लिएर सरकारी कार्यालयको बद्नाम गर्ने काम भइरहेको छ ।’

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत देवीप्रसाद भट्राई काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घूस नलिएको दावी गर्छन । तर उनले भने विपरित सेवाग्राहीले भने कमिसन नखुवाई काम बन्दैन् । ‘सेवा शुल्क बाहेक अतिरिक्त शुल्क लिन पाइन्न,’ उनी भन्छन्, ‘ पैसा लिएको प्रमाणसहित कोही आए कर्मचारीलाई कामरवाही गर्छौ ।’

मालपोत कार्यालय अनलाइन माध्यममा गएका कारण प्राविधिक कारणले बेला बेला काम गर्न असहज हुने बताउँदै उनले कर्मचारीले कमिसन नलिएको दावी गर्नुभयोे । विराटनगर महानगरपालिका सहित धनपालथान, बुढीगंगा र ग्रामथान कार्यक्षेत्र रहेको मालपोत कार्यालय विराटनगरमा ३२ जनाको दरबन्दी छ । सेवाग्राहीको भीड हुने कार्यालयमा सिसि क्यामेरा जडान गरिएको छैन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३