प्रकाशित : १ माघ २०७५, मंगलवार १३:११


विराटनगर, १ माघ । पूर्वका विभिन्न जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा मनाएका छन् ।
नयाँ वर्षका रुपमा हर्षोल्लास साथ माघी मनाइएको लिम्बू अगुवाहरुले बताएका छन् ।
उनीहरुले नेपालमा मनाईने हरेक चाड पर्वहरुले आ–आफ्नै मौलिकता बोकेको बताउँदै माघीले लिम्बू समुदायमा विशेष महत्व राख्ने बताए । लिम्बू समुदायको नयाँ वर्ष माघ १ गतेबाट सुरु हुन्छ । ‘प्रत्येक चाडसंग विभिन्न समुदाय र जातजातिको मौलिकता तथा पहिचान जोडिएको हुन्छ,’ लिम्बू अगुवा चन्द्रदीप मादेनले भन्नुभयोे, ‘माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरेर माघी पर्वको रुपमा मनाइरहँदा लिम्बू समुदायले भने यसलाई आफ्नो नयाँ वर्षका रुपमा मनाउने गर्छन ।’
यो दिन माघ १ अर्थात लिम्बूहरुको नयाँ वर्षलाई लिम्बू भाषामा ‘कक्फेक्वा तङनाम’ भन्ने गरिन्छ । नेवारी समुदायको नयाँ बर्ष न्हू दयाँ भिन्तुना भए जस्तै लिम्बूहरुको नयाँ बर्ष ‘येले तङबे’ भएको लिम्बू मुन्धुमका ज्ञाता साम थाङबेन लिम्बूले बताउनुभयो । उनका अनुसार माघ १ बाट येले तङबे ५०७९ सुरु भएको छ ।
छुट्टै पहिचान, संस्कार, संस्कृति, भाषा, लिपी र मौलिकता रहेको लिम्बू समुदायको महान पर्व कक्फेक्वा तङनाम अर्थात माघे संक्रान्ति नै भएको मादेनले बताए । उहाँका अनुसार लिम्बू समुदायले माघ १ लाई जाडो सकिएर गर्मी सुरु भएको रुपमा पनि लिने मान्यता छ ।
यो पर्वमा लिम्बू समुदायले परिवार र आफन्तसंग भेटघाट गरी मिठा–मिठा परिकार खाने प्रचलन छ । लिम्बू समुदायले यस पर्वलाई एकता, मेलमिलाप र एकअर्काबीचमा भात्रृत्वको सम्बन्ध बढाउने हिसावमा मनाउने गर्छन ।
यो अवसरमा पूर्वका विभिन्न ठाँउमा मेला लाग्नुका साथै विभिन्न सांस्कृतिक प्रतियोगिताहरु पनि सञ्चालन हुने गरेको छ ।
पूर्वको तेह्रथुम, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा लगायतका जिल्लामा बसोबासर गर्ने लिम्बू समुदायले कक्फेक्वा तङ्नाम तथा येले तङ्बे भब्यताका साथ मनाउने गर्छन ।