Breaking News

साना उद्यमीद्धारा सरकारसँग अनुदान माग

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १८:५५

विराटनगर, २६ पुस । विदेशी वस्तुको आयातका कारण स्थानीय कृषिजन्य वस्तुमा आधारित स्वदेशी घरेलु उद्योग संकटमा परेको भन्दै साना उद्यमी तथा व्यवसायीले सरकारसँग अनुदानको माग गरेका छन् ।

विराटनगरमा भेला भएका प्रदेश नं १ झण्डै दुई दर्जन व्यवसायीले प्रदेश नं १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीहरुसँग भेट गरी यस्तो माग गरेका हुन् । त्यस क्रममा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा प्याकिङ्ग, र प्रशोधनमा आवश्यक पर्ने विभिन्न उपकरण खरिदका लागि अनुदान उपलब्ध गराई दिन सरकारसँग माग गरे । सस्तो मूल्यमा विदेशबाट ठूलो मात्रामा आयात हुने विदेशी बस्तुका कारण आफ्ना साना उद्योगहरु धरासाही भएकाले त्यसको संरक्षणका लागि सरकारी सहयोग आवश्यक भएको साना उद्यमीको भनाई छ ।

विगत केही बर्ष देखि विराटनगरमा फुरन दाना उद्योग सञ्चालन गर्दै आउनु भएकी गुञ्जन सिंह सस्तो मूल्यमा नेपाल भित्रिने भारतीय र बंगलादेशी फुरन दानाका कारण आफ्नो उत्पादनले बजारमा मूल्य नपाएको गुनासो गर्नुभयो । सिंह भन्नुहुन्छ,‘भारत र बंग्लादेशबाट भित्रिने फुरन दानाका कारण स्वदेशी फुरन दानाले १० प्रतिशत बजार पनि पाएका छैनन् ।’ फुरन दानका लागि आवश्यक पर्ने कच्चा पदार्थ चिउरा, हरियो मोटर र किसिमिस लगयतका बस्तु आफुले महाँगोमा खरिद गर्नुपर्ने कारण आफ्नो उत्पादनको लागत मूल्य बढी भएकाले बजार पाउन समस्या भएको उहाँको भनाई छ । तर यसको प्रशोधनमा आवश्यक पर्ने उपकरण खरिदमा सरकारले केही अनुदान दिए सस्तो मूल्यमै आफुले पनि तयारी बस्तु बजारमा पुर्याउन सक्ने उहाँको दाबी छ ।

त्यस्तै लघु उद्यम संघ उदयपुरकी अध्यक्ष अम्बिका रेग्मी पनि विगत एक दशक देखि मसला उद्योग सञ्चालन गर्दै आईरहनु भएको छ । तरकारीमा प्रयोग गरिने तयारी मसला र बेसारको उत्पादन गर्दै आउनु भएकी रेग्मीको पनि पीडा उही छ,‘सस्तो मूल्यमा भित्रिने भारतीय तयारी मसला र बेसारका कारण उहाँको स्थानीय उद्योगमा उत्पादित बेसार र मसलाले बजार पाउन छाड्यो ।’

विदेशबाट भित्रिने तयारी मसला र बेसार मात्र होईन विदेशबाट कच्चा सामाग्री आयत गरी तयारी मसला र बेसार उत्पादन गर्ने ठूला उद्योगले पनि स्वदेशी कच्चा पदार्थमा आधारित साना मसला उद्योग संकटमा परेको रेग्मीको बुझाई छ ।‘विदेशी उत्पादनमा भन्दा आफ्नै देशको कच्चा पदार्थलाई प्रशोधन गरी तयारी गरिने बस्तुलाई प्रोत्साहन गर्ने तर्फ सरकारको ध्यान जानुपर्छ, यसले बेसार र अदुवा उत्पादन गर्ने किसानलाई समेत प्रोत्साहन मिल्छ ।’ लघु उद्यमी रेग्मीले भन्नुभयो ।

‘सरकारले कृषिजन्य बस्तुमा आधारित साना उद्योगहरुलाई सहयोग गर्दै आएको छ, तर यस्तो सहयोग टाठा बाठा र नेताको वोरीपरी घुम्नेले मात्र पाएका छन्’ एक अर्का कागती व्यवसायि रेग्मीको भनाई छ ।

त्यस्तै धरान उपमहानगरपालिका– ६ की शारदा काफ्ले र विराटनगर तिनटोलीयाकी सोमी भगत चौलागाई पनि महिलाले सञ्चालन गरेका स्थानीय कच्चा पदार्थमा आधारित साना उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु हुन्छ । काफ्ले र चौलागाई दुबै मसला उद्यमी हुन । एकतिर विदेशी बस्तुको आयत र अर्को तर्फ स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको उचित नीतिको अभावमा स्वदेशी साना उद्योग धारासाही बन्दै गएको कुरामा अधिकांश साना उद्यमी सहमत छन् । त्यसैले सरकारले उपलब्ध गाराउने अनुदान सही व्यक्तिले पाउने गरी व्यवस्था मिलाउनुपर्ने अधिकाँस उद्यमीको माग छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३