Breaking News

बायो ग्यास विस्तारमा सरकारी असहयोग

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १७:१८

विराटनगर, २४ पुस । सरकारी स्तरबाट पूर्ण सहयोग नहुँदा विराटनगर १४ स्थित श्रीकृष्ण गौ सेवा सदनबाट उत्पादित वायो (गोबर) ग्यास विस्तारमा समस्या भएको छ ।

गत भदौ ५ गते श्री कृष्ण गौ सेवा सदनबाट उत्पादित वायो ग्यास वितरण प्रक्रियाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गगर्नु भएको थियो । त्यतिबेला ३२ घरले सिलिण्डरको विदाई गरेको र वायो ग्यास चलाउन थालेको घोषणा गरिएको थियो । प्रधानमन्त्री ओलीले त्यतिबेला भन्नुभएको थियो, ‘अव चाँडै यसको विस्तार हुन्छ ।

यसका लागि सरकारले सहयोग गर्छ ।’ तर अहिले सम्म ग्यास विस्तारका लागि सरकारले कुनै सहयोग गरेको छैन । असोज भित्र स्थानीय ४८ घरमा उपलब्ध गराउने भनिएको थियो । श्रीकृष्ण गौ सेवा सदन विराटनगरबाट गाईवस्तुको गोबर प्रशोधन गरी निकालिएको वायो ग्यास वितरण सुरु भएको पाँच महिना पनि पुग्न नपाउँदै चिसो मौसमले ग्यास उत्पादनमा कमि आउन थालेको छ ।

‘वायो ग्यास विस्तार गर्ने सोचका साथ हामी लागेका थियौं,’ श्रीकृष्ण गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले भन्नुभयोे, ‘चिसो मौसमका कारण उत्पादनमा कमि हुन थालेको छ ।’ तापक्रमका कारण उत्पादनमा २० प्रतिशत कमि भएको बताइएको छ ।

जाडो सकिएपछि ग्यास विस्तार गरिने अग्रवालले बताउनुभयो । उहाँले आश्वासन पाए जस्तो सरकारी तवरबाट कुनै सहयोग नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ग्यासको उद्धघाटन गरेपछि समृद्धिको एउटा खुड्किलो थपिएको र २० प्रतिशत सस्तोमा घरघरमा ग्यास पुग्ने बताउँदै भनेका थिए, ‘थोरै परिवारले भए पनि काँधमा शिलिन्डर बोकेर हिंड्नु पर्ने दिन गए ।’ तर अहिले सम्म स्थानीयले त्यसको अनुभूति गर्न पाएका छैनन् ।

एक करोड ५० लाख लागतमा दुई घन मिटरको वायो ग्यास प्लान्टबाट ग्यास उत्पादन हुँदै आएको छ । गौशालमा रहेका दुई सय पाँचवटा गाईबाट दैनिक दुई मेट्रिकटन उत्पादित गोबरको प्रयोगबाट निकालिएको वायोग्यास ३२ घरमा जडान गरिएको छ ।

उर्जा क्षेत्रमा राज्य आत्मनिर्भर हुने अभियानमा अग्रसर भइरहेको बताउँदै आएको सरकारले यसको विस्तारमा सहयोग नगर्दा भने स्थानीय चिन्तित छन् । वैकल्पिक उर्जाको प्रयोगकालागि स्थानीय स्तरबाट यत्रो परियोजना संचालन हुँदा पनि सरकारले कुनै चासो नदिएको अग्रवालले बताउनुभयो ।

उहाँले गौ सेवा सदनको पर्खालमा सोलार प्लान्ट जडान गरे एक मेगावाट विजुली उत्पादन गर्न सकिने बताउनुयो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३