Breaking News

विराटनगर , २१ पुस । नेपाल आयल निगमले भारतको बरौनी डिपोबाट पेट्रोलियम पदार्थ (इन्धन) ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई रोक लगाइएपछि पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ ।

महासंघले घोषणा गरेको आन्दोलनमा पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले पनि समर्थन गरेको छ । महासंघको पूर्वघोषित कार्यक्रमलाई समर्थन गर्दै प्रदेश १ मा पूर्वाञ्चल ढुवानी व्यवसायी संघका उपाध्यक्ष धु्रबप्रसाद सिग्देलको संयोजकत्वमा १२ सदस्यीय आन्दोलन समिति गठन गरिएको छ ।

निगमको प्रदेश १ कार्यालय विराटनगरबाट संचालनमा रहेका १३ वटा ट्यांकरलाई तीन महिना ढुवानीमा रोक लगाइएसंगै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

नियम विपरित लगाइएको प्रतिबन्ध फुकुवा नभए आगामी सोमबारबाट ढुवानी ठप्प पारेर देशव्यापी हड्ताल गरिने चेतावनी पेट्रोलियम ढुवानी व्यवसायीले दिएका छन् । निगमले ढुवानीकर्ता सुखदेव सिंहले संचालन गरेका १३ वटा ट्यांकरलाई पुसबाट लागू हुने गरी ढुवानीमा प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको हो ।

सिंहले संचालन गरेका को १ ख ५९४१, ५९४२, ५९४३, ५९६५, ६९३०, ६९३४, ५९६८, ५९४१, ६०५०, ५९७०, ना ३ ख ९६३३, ना ४ ख १९६४ र २९७१ नम्बरको ट्यांकरलाई निगमले ढुवानीमा प्रतिबन्ध लगाएको हो । नियम मिचेर प्रतिबन्ध लगाइएको भन्दै ढुवानी व्यवसायी र मजदुर आक्रोसित बनेका छन् । उनीहरुले तत्काल पीडीओ नदिए आगामी सोमबारबाट नेपाल भर इन्धन ढुवानी ठप्प पार्दै ट्यांकरका चावी निगमलाई बुझाएर आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

भारतको बरौनी डिपोदेखि नेपाल आयल निगमको विराटनगर डिपोसम्म ढुवानी गर्ने क्रममा गत मंसिर ६ गते सिंहले संचालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा दुई हजार चार सय ८४ लिटर डिजेल चोरी भएको थियो । त्यसपछि सिंहले संचालन गरेका सबै ट्यांकरलाई निगमले इन्धन ढुवानीमा तीन महिना रोक लगाएको हो ।

लक लागेकै अवस्थामा डिजेल चोरी भएको ट्यांकरलाई भने अबदेखि कहिल्यै ढुवानीमै प्रयोग गर्न नपाउने गरी निगमको वोर्ड बैठकले खारेज गरिदिइसकेको छ । ढुवानीकर्तालाई दोब्बर जरिवाना गर्दै चालक धर्मेन्द्र स्वर्णकारलाई छ महिना सम्म निगमको विराटनगर डिपो प्रवेषमा रोक लगाइएको छ । निगमले यस घटनाको छानविन समेत गरेको थियो । तर अहिले सम्म छानविन प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले एउटा ट्यांकरले फट्याई गर्दा सबै ट्यांकरलाई कारवाहीको दायरामा लैजानु गलत र प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको बताउनुभयो । उहाँका अनुसार डिजेल चोरीमा संलग्न ट्यांकरलाई पनि तीन महिना सम्म मात्रै ढुवानीमा रोक लगाउन पाउने नियम छ । नियमको धज्जी उडाउँदै चोरीमा मुछिएको ट्यांकरलाई खारेज गरेर पूर्वाग्रह साँच्न खोजिएको उहाँले बताउनुभयो ।

ढुवानीकर्ता र ट्यांकरलाई कानुन भन्दा माथि गएर गरिएको कडा कारवाहीको विरोध गर्दै उक्त कारवाही फिर्ता लिन माग गरिएको निरौलाको भनाइ छ ।

निरौलाले ट्यांकरबाट हुने इन्धन चोरी नियन्त्रण गर्न निगमले सेक्यूरिटी लकिङ प्रणाली जडान गरेपछि आफूहरुले पनि समर्थन गरेको बताउँदै यस घटनाको छानविनका लागि व्यवसायी प्रतिनिधी समेत रहेको निष्पक्ष समिति गठन गर्नु पर्ने माग राख्नुभयोे । उहाँले निष्पक्ष रुपमा छानविन नभए सम्म वास्तविकता बाहिर नआउने भएकाले त्यस अवधि सम्म ट्यांकरमाथि गरिएका कारवाही फिर्ता हुनु पर्ने र सबै ट्यांकरलाई इन्धन ढुवानी अनुमति दिनु पर्ने आफूहरुको मुख्य माग रहेको बताउनुभयो ।

बै ट्यांकरलाई अनुमति नदिइकन एकै पटक ढुवानीमा रोक लगाइँदा ढुवानीकर्तालाई बैंक व्याज तिर्न र मजदुरको पालन पोषण गर्न समस्या भएको उनको भनाइ छ । उहाँले १३ वटा ट्यांकरलाई पीडीओ नदिएको कारण पनि निगमले प्रष्ट पार्न नसकेको बताउनुभयो ।
उनले यस विषयमा पटक पटक ध्यानआकर्षण गराउँदा समेत निगमको संचालक समितिले वास्ता नगरेपछि आन्दोलनमा जान बाध्य हुनु परेको जानकारी दिनुभयो ।

ढुवानी व्यवसायी र मजदुरले आफूहरुको मागको सम्बोधन नभए सोमबारबाट मुलुक भर पेट्रोलियम ढुवानी ठप्प पारेर ट्यांकरका चावी आयल निगमको सम्बन्धित डिपोमा बुझाएर आन्दोलन थाल्ने चेतावनी दिएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नै आफ्ना माग पूरा गर्न निगमलाई १५ दिनको अल्टिमेटम यही पुस ८ गते दिएको थियो । महासंघका अध्यक्ष खगेश्वर बोहराले आइतबारसम्ममा मागको सम्बोधन नभए सोमबारबाट ढुवानी यथावत संचालन गर्न नसकिने व्यहोराको पत्र नेपाल भरका सबै पेट्रोलियम ढुवानी व्यवसायी संघलाई पठाइसकेका छन् ।

ढुवानी व्यवसायीले निगम समक्ष विभिन्न ६ बुँदे माग अघि सारेका छन् । इन्धन ढुवानीमा तापक्रमको फरक अनुसारको लस पाउनु पर्ने, एक प्रतिशतसम्म लसलाई मूल्य बराबर मात्र जरिवाना गरिनु पर्ने, दुर्घटना हुँदा लस भएको परिणामको मात्र ढुवानी भाडा रोक्नु पर्ने, आयल निगमले भारतीय डिपोमा अधिकृत स्तरका कर्मचारी खटाएर लोडिङ सहज बनाउनु पर्ने, निगमका सबै डिपोबाट लकिङ प्रणाली चेकजाँच गरी ट्यांकरलाई सर्टिफिकेट दिनु पर्ने लगायतका माग ढुवानी व्यवसायीको छ ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले ढुवानी व्यसायीले घोषणा गरेको आन्दोलनमा मजदुरहरुले पनि सहमति जनाएको बताउनुभयो । नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले व्यवसायी र मजदुरका मागका विषयमा केन्द्रमा छलफल भइरहेका कारण ढुवानी ठप्प पारेर आन्दोलन नगर्न पत्र पठाइसकिएको बताउनुभयो ।

‘ढुवानी ठप्प पारेर आन्दोलन गर्दा पेट्रोलियम पदार्थको हाहाकार भएर उपभोक्ताले सेवा पाउन सक्ने अवस्था रहँदैन,’ यादवले भने, ‘त्यही भएर बन्द हड्तालन नगर्न र ढुवानी यथाव सुचारु गर्न ढुवानी व्यवसायी संघलाई पत्र नै पठाइसकिएको छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३