Breaking News

बरौनी पुर्याइएका पेट्रोलियम ट्यांकरलाई ६ दिनपछि पिडिओ

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १९:०२

विराटनगर, १८ पुस । इन्धन ढुवानीका क्रममा गडवडी भेटिएको भन्दै चेकजाँचका लागि भारतको बरौनी डिपोमा पुर्याइएका ट्यांकरलाई नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले ६ दिनपछि ‘पेट्रोलियम डेलिभरी अर्डर’ (पिडिओ) अनुमति दिएको छ ।

निगमले पिडिओ अनुमति नदिंदा बरौनी डिपो पुगेका ६ वटा ट्यांकरले पुस १३ गतेबाट पेट्रोलियम ढुवानी गर्न पाएका थिएनन् । ट्यांकर बरौनीमै रहेका थिए । ट्यांकरलाई निगमले पिडिओ नदिए सम्म बरौनी डिपोले नेपाल ल्याउने पेट्रोलियम लोड गर्दैन । चेकजाँच गर्दा चुस्त दुरुस्त देखिएको र कुनै कैफियत फेला नपरेको अवस्थामा पनि पेट्रोलियम ढुवान गर्दै आएका ट्यांकरलाई पिडिओ नदिएको भन्दै आक्रोसित बनेका पेट्रोलियम मजदुरले बिहीबारबाट आन्दोलन सुरु गरेका थिए ।

पेट्रोलियम ढुवानी ठप्प पार्दै आन्दोलन थाले लगत्तै निगमले पिडिओ अनुमति दिएको हो । निगमले ना ४ ख ३२५४, ना ७ ख ५८५४, ना २ ख ३८३३, ना २ ख ४३५१, ना ३ ख ९३०३ र को १ ख ३५८१ नम्बरको ट्यांकरलाई छानविनको दायरामा ल्याएको थियो । इन्धन चोरी नियन्त्रण गर्न ट्यांकरमा लगाइएको मास्टर लकिङ सिस्टमका बारेमा जाँचबुझ गर्दा यी ट्यांकरमा समस्या देखिएको थियो ।

मास्टर लकिङ सिस्टमका बारेमा बुझ्नका लागि आयल निगमको केन्द्रीय कार्यालयले एलपी ग्याँस विभागका प्रमुख दिपक बरालको नेत्रृत्वमा पुस ९ र १० गते विराटनगरमा टोली पठाएको थियो । टोलीले चेकजाँच गर्दा चावी लगाएकै अवस्थामा लक खुलेपछि यी ट्यांकरलाई चेकजाँचका लागि बरौनी पुर्याएको थियो । बरौनी पुर्याएर नापतौलका बारेमा चेकजाँच गर्दा कुनै कमजोरी नदेखिए पनि निगमले पुस १३ गतेबाट यी ट्यांकरलाई पिडिओ उपलब्ध गराएको थिएन । पिडिओ नदिंदा बरौनी डिपोले नेपाल ल्याउने इन्धन लोड गर्न अस्वीकार गर्दै आएको थियो ।

यसको विरोधमा बिहीबार विहानबाट इन्धन ढुवानी ठप्प पारेर पेट्रोलियम ढुवानी गर्दै आएका मजदुरहरु आन्दोलिन बनेका थिए । बरौनी डिपोमा पुर्याएर चेकजाँच गर्दा कुनै कैफियत नदेखिए पनि लामो समयदेखि त्यहाँ पुर्याइएका ट्यांकरले निगमको लापरवाही र कर्मचारीको आन्तरिक द्धन्द्धको सिकार हुनु परिरहेको गुनासो गरेका थिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले कमजोरी नदेखिए पनि ट्यांकर बरौनीमा पुर्याएर थन्क्याइएको र पिडिओ नदिएपछि आन्दोलन गर्नु परेको बताए । उनले भारतको बरौनीबाट ६ वटा ट्यांकरले ६ दिनदेखि इन्धन लोड गर्न नपाएको बताए । उनका अनुसार लकिङ प्रणालीको दायरा भित्र रहेर इन्धन ढुवानी गरिरहे पनि निगम व्यवस्थापनको खिचातानी र कर्मचारीको आन्तरिक द्धन्द्धका कारण समस्या भएको हो ।

‘किन पिडिओ नदिएको भनेर सोध्यो भने अर्कोलाई देखाएर निगमका कर्मचारी पन्छिने गरेका छन्,’ उनले भने, ‘पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा कुनै समस्या र कमजोरी नदेखिएपछि लामो समयदेखि बरौनीमा पुर्याएर थन्क्याउनु कहाँ सम्मको लापरवाही हो ?’ बरौनी पुर्याइएका ६ वटा ट्यांकरलाई पिडिओ उपलब्ध नगराउनजेल सम्मका लागि ढुवानी ठप्प पारेर सुरु गरिएको आन्दोलन पिडिओ प्राप्त हुन साथ रोकिएको जानकारी आचार्यले दिए । उनले चेकजाँच गर्दा कुनै समस्या नरहेको अवस्थामा ट्यांकरलाई भारतको बरौनीमा लगेर इन्धन ढुवानी गर्न नदिएका कारण मजदुरले आन्दोलन नै गर्नु परेको जानकारी दिए ।

आचार्यले चावी लागेकै अवस्थाको ट्यांकरको लक खुले पनि बरौनी सम्म पुर्याएर चेकजाँच गर्दा कुनै कैफियत नभेटिएको अवस्थामा तत्काल पिडिओ दिनु पर्नेमा त्यसो नगरिएको बताए । ‘लक खुले पनि पेट्रोलियमको परिणाम दुरुस्त रहेको पाइएको थियो,’ उनले भने, ‘छड्के जाँच गर्दा समेत कुनै कमजोरी नदेखिंदा पनि निगमले मजदुर र व्यवसायीलाई अनआवश्यक रुपमा दुःख दिने काम गर्यो ।’ लकिङ सिस्टममा गल्ती भेटिनु आयल निगमकै कमजोरी रहेको उनको भनाइ छ ।

नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले चावी लगाएकै अवस्थामा ट्यांकरमा लगाइएको लक खुलेपछि छानविनका लागि ट्यांकरलाई बरौनी पुर्याइएको बताए । छानविनको प्रक्रिया लामो भएका कारण कुनै कमजोरी र कैफियत नभेटिएका ट्यांकरलाई तत्काल पिडिओ दिन नसकिएको उनको भनाइ छ । उनले चावी लगाएकै अवस्थामा ट्यांकरको लक खुले पनि बरौनीमा चेकजाँच गर्दा कुनै समस्या नरहेपछि निगमको केन्द्रीय कार्यालयकै अनुमतिमा बिहीबार पिडिओ दिइएको बताए ।

निगमका केन्द्रीय प्रवक्ता विरेन्द्र गोइतले ट्यांकरबाट इन्धन चोरी हुने गरेका कारण सुधारको पक्षमा लैजान खोज्दा बरौनी लगिएका ट्यांकरलाई पिडिओ दिन केही ढिलाई भएको बताए ।

उनले इन्धनमा हुने चोरी नियन्त्रण गर्न निगमले कडाई गरिरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३