प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १८:५२

विराटनगर, १८ पुस । नेपालमा गुणस्तरीय शैक्षिक वातावरणको अभावमा अध्ययनका लागि युवा विदेश पलायन हुने क्रम बढेको भन्दै त्यसलाई रोक्नु पर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिनु भएको छ ।

उहाँले नेपालमै गुणस्तरीय र प्रतिष्पर्धी हिसावको पठन पाठन हुँदा मात्रै अध्ययनका नाममा विदेश पलायन हुने क्रम रोकिने बताउनुभयो । उनले नेपालको शिक्षा क्षेत्रमा धेरै चुनौतीहरु रहेको पनि बतानुभयो ।

त्यही चुनौतीका कारण मुलुकले अनेक अप्ठेराहरु बेहोर्नु परिरहेको उनको भनाइ छ । उनले आवश्यक शैक्षिक पूर्वाधारको कमी, साधन स्रोतको अभाव, समयानुकूल पठन पाठनमा समस्या र प्रतिष्पर्धापूर्ण शैक्षिक कार्यक्रम लागू गर्न नसक्दा अध्ययनका लागि विदेश पलायन हुनेको संख्या धेरै रहेको बताउनुभयो । भण्डारीले शैक्षिक केन्द्रहरुलाई साधान स्रोत र पूर्वाधार युक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

विराटनगरमा आज पूर्वाञ्चल विश्व विद्यालयको २५ औं वार्षिक उत्सव एवं रजत महोत्सवको उद्धघाटन गर्दै शिक्षा क्षेत्र गुणस्तरीय हुन नसकेकै कारण वैदेशिक रोजगारीका नाममा युवा विदेश पलायन हुनु परिरहेको बताउनुभयो । उहाँले वेरोजगारीका कारण उच्च शिक्षा हाँसिल गरेका लाखौं युवा रोजगारीका नाममा विदेश पलायन हुनु परिरहेको बताउनुभयो ।

उपयुक्त शिक्षा नीति लागू गरेर उच्चतम प्रविधिका साथमा शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्दै विश्व विद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनु पर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । उत्पादकत्व कमजोर हुँदा मुलुकले व्यापार घाटा बेहोर्नु परेको उनले बताइन । आधुनिक शिक्षा पद्धतीलाई उत्पादकत्वसंग जोड्न सकियो भने मुलुकले व्यापार घाटा बेहोर्न नपर्ने उनको भनाइ छ । प्

रकृतिले दिएका अमूल्य उपहारको सही सदुपयोग गरेर आम नागरिकको जीवनमा ठोस परिवर्तन गर्न आधुनिक शिक्षा प्रणालीको खाँचो रहेको भण्डारीको भनाइ छ । शिक्षा प्रणालीका चुनौती पन्छाउँदै दक्ष जनशक्ति उत्पादन गर्न सके युवालाई विदेश पलायन हुनबाट रोक्न सकिने उहाँको सुझाव छ ।

समृद्ध नेपाल र सुखी नेपालीको नारासहितका अभियानलाई सफल बनाउन आधुनिक शिक्षा प्रणालीको खाँचो रहेको भन्दै राष्ट्रपति भण्डारीले यसका लागि विश्व विद्यालयहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा भएका जलसम्पदा, भूमि, वन, जडिबुटी र जनशक्तिको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहने उहाँको भनाइ छ ।

विश्वविद्यालयले राष्ट्रलाई सम्मान गर्नसक्ने क्षमतावान र अनुशासित नागरिकको उत्पादन गर्नेतर्फ जोड दिनु पर्ने उहाँको भनाइ छ । उनले स्वदेशमा दक्ष जनशक्तिको अभाव खड्किंदै गएको बताउनुभयो ।

भण्डारीले मुलुकको उत्पादन पद्धति र शिक्षा प्रणालीबीच मेल खान नसक्दा त्यस्तो परिणाम मुलुकले ब्यहोर्नु परेको हुनसक्नेतर्फ संकेत गर्नुभयो । शैक्षिक क्षेत्रलाई साधन स्रोत सम्पन्न बनाउनमा जोड दिएकी राष्ट्रपति भण्डारीले उद्योग कलकारखाना तथा कृषि उत्पादकत्वको अवस्था कमजोर हँुदै गएको बताउनुभयो । तथापि, प्राकृतिक स्रोतसाधन, अन्नभण्डार तथा चिया अलैची दूधजन्य पदार्थमा पूर्वाञ्चल क्षेत्र अग्रस्थानमा रहेको प्रस्टाउनुभयो ।

सुदृढ अर्थतन्त्र सहितको स्वाधिन नेपाल निर्माणका लागि मुलुकमा भएका जलसम्पदा, जडिबुटी समेतका प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहने उहाँले बताउनुभयो । विश्व विद्यालयले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पनि गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनअपेक्षा पूरा गर्न समृद्धिलाई शिक्षासंग जोड्नु पर्ने बताउनुभयो । पूर्वाञ्चल विश्व विद्यालयका सहकुलपति समेत रहेका उनले शिक्षा पूर्वाधारको पनि पूर्वाधार रहेका कारण शिक्षाका माध्यमबाट आम नागरिकलाई शिक्षित गराएर राष्ट्र निर्माणमा लगाउने योजना सरकारले ल्याउने जानकारी दिए ।

पोखरेलले पारदर्शीता, जवाफदेहिता, निष्पक्षता र जनसहभागितालाई ध्यान दिंदै कुसल नागरिक उत्पादन गर्न आधुनिक शिक्षा प्रणालीलाई सदुपयोग गरिने बताउनुभयो । पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसंग जोड्नुको विकल्प नभएको बताउनुभयो ।
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विश्व विद्यालय राम्रा अवसर, स्रोत र सम्भावनालाई सदुपयोग गर्दै उदेश्य प्राप्तीका लागि अघि बढ्नु पर्ने बताए । शैक्षिक विकासका लागि सानो मनस्थिती र सानो घेरामा नखुम्चिकन वलिया आधारका वृहद योजनाका साथमा विश्व विद्यालय प्रस्तुत हुनु पर्नेमा मुख्य मन्त्री राईको जोड छ ।

विश्व विद्यालयले शिक्षा क्षेत्रमा विगतमा साथ दिने, समर्थ र सहयोग एवं योगदान गर्ने पाँच जनालाई सम्मान गरेको छ । पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगकका प्रथम अध्यक्ष प्रा. कृष्ण पोखरेल, द्धितिय उपकुलपति तोरणबहादुर कार्की, विराटनगरका पूर्व मेयर अशोक कोइराला र पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई सम्मान गरिएको विश्व विद्यालयका उपकुलपति डा. घनश्यामलाल दासले जानकारी दिए । त्यस्तै प्रथम उपकुलपति ध्रुवनारायण लाललाई मरणोप्रान्त सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको उपस्थिती रहेको थियो ।

पढेको क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन
राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले पढेको विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज अभिनन्दन गरिएको छ ।
पूर्व विद्यार्थी भएको र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उनलाई क्याम्पसकातर्फबाट अभिनन्द गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताउनुभयो । राष्ट्रपतिलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरियो ।

राष्ट्रपति भण्डारीले २०३९ साल देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तहको अध्यन गरेकी थिइन । अध्ययनका क्रममा उनी २०४० साल बैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन ।

अभिनन्दनका लागि क्याम्पस प्रमुख तिम्सिनाको संयोजकत्वमा २०१ सदस्यीय मूल समिति र विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको थियो । आफू पढेको क्याम्पसमा अभिनन्दन गरिएपछि राष्ट्रपति भण्डारीले आभार व्यक्त गरिन् । उहाँले आधुनिक शिक्षा प्रणाली मुलुक विकासको मूल आधार रहेको बताइन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्वको शैक्षिक विकासको धरोहर भएको भण्डारीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३