Breaking News

विराटनगर, १८ पुस । विराटनगरस्थित इलाका प्रहरी कार्यालयबाट हत्या अभियोगका थुनुवा फरार प्रकरणमा प्रहरी निरीक्षक सहित पाँच प्रहरीलाई विभागिय कारवाही गरिएको छ । तीन प्रहरी विरुद्ध मुद्दा चलाइएको छ ।

कार्यालयका तत्कालिन प्रमुख प्रहरी निरीक्षक सन्तोश निरौला, नायव निरीक्षक डम्बर थापा, सहायक निरीक्षक पशुपति बस्नेत, जवान रिंकु मण्डल र अमित तामाङलाई विभागिय कारवाही गरिएको प्रहरी स्रोतले बतायो । थुनुवा फरार भएका दिन निरौला भने विदामा थिए । ड्युटीमा रहेका प्रहरी हवल्दार जिरालाल रौनिया, प्रहरी जवान सुरेश राजवंशी र जगन्नाथ बास्केलाई कारागार ऐन अन्तरगत थुनुवा भगाएको अभियोगमा मुद्दा दायर गरिएको छ ।

हत्या आरोपमा हिरासतमा रहेका दुई थुनुवा फरार भएपछि छानविन गर्न गठन भएको टोलीको प्रतिवेदन अनुसार पाँच जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही गरिएको हो भने तीन जनालाई भने मुद्दा दायर गरिएको हो । गत कात्तिक ९ गते विहानका राति हिरासत कक्षको भेन्टिलेसनबाट थुनुवा फरार भएपछि तत्कालिन समयमा ड्युटीमा रहेका तीनजनालाई निलम्बन गरी कारागार ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । मुद्दा चलाइएका तीनै जना जिल्ला अदालत मोरङको आदेशपछि धरौटीमा छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पाँच जना प्रहरीलाई प्रहरी ऐन २०१२ अनुसार विभागिय कारवाही गरिएको हो । गत असोज १ गते विराटनगर १७ का १७ वर्षीय महम्मद अस्फाकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका महम्मद सद्दिम हुसेन र महम्मद आरिफ आलम कात्तिक ९ गते बिहान रानी इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षको भेन्टिलेसनको ६ वटा रड काटेर फरार भएका थिए । फरार भएका आलम र हुसेन अझै भेटिएका छैनन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालिन डीएसपी निशान थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो भने प्रदेश प्रहरी कार्यालयले एसएसपी किशोर दाहालको नेत्रृत्वमा छुट्टै छानविन समिति गठन गरेको थियो । दुबै छानविन समितिको प्रतिवेदनपछि ८ जनालाई कारवाही गरिएको स्रोतले बतायो । तर प्रतिवेदन भने गुपचुप राखिएको छ ।

गत असोज दोस्रो साता पक्राउ परेका हत्या आरोपी हुसेन र आलम विरुद्ध दायर गरेको मुद्दामा कत्तिक ८ गते बिहीवार जिल्ला अदालत मोरङबाट आदेश आउने दिन थियो ।

८ गते पक्राउ परेको २४ दिन पुगेको थियो । बिहीवार मुद्दा हेर्दा हेर्दैमा रहेपछि अदालतले आरोपीलाई प्रहरी हिरासतमा नै पठाएको थियो । शुक्रवार बिहान अदालत उपस्थीत हुनुपर्ने हत्या आरोपी राति नै फरार भएका थिए । कारागार पठाउनु पर्ने व्यक्ति प्रहरी हिरासतबाटै फरार भएपछि कार्यालय प्रमुख सहित आठ प्रहरीमाथि छानविन थालिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३