प्रकाशित : १० पुष २०७५, मंगलवार १८:०२


विराटनगर, १० पुस । सामाजिक विकास मन्त्रालयले विद्यालयबाट झोला र किताव विस्थापीत गर्ने भएको छ ।
पाईलट प्रोजेक्टका रुपमा प्रदेश नं. १ का एक सय विद्यालयबाट कार्य शुरु गरिन लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
१० बर्ष भित्रमा प्रदेश नं. १ का सवै विद्यालयबाट झोला र किताव विस्तापीत गरिने उहाँको भनाई छ । आर्थिक बर्ष २०७५/०७६ मा मन्त्रालयबाट भएका कामबारे आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले समयको माग इ–एजुकेशन भएकाले मन्त्रालयले सो योजना अघि सारेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ अमेरिकामा वसेर नेपालमा कक्षा हुने समय आईसक्यो, हामी कितावको भारी बोकाएर विद्यालय पठाईरहेका छौं ।’
समयको गतिसँग चल्नका लागि यो कार्यक्रम शुरु गर्ने तयारी गरिएको उहाँको भनाई छ । उहाँले अभिभावकका लागि पनि इएजुकेशन आवस्यक रहेको बताउनुभयो । उहाँले आगामी ५ बर्ष भित्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने दावी गर्नु भयो ।
केही विद्यालयमा त्यसको लक्षण समेत देखा पर्न थालेको उहाँको भनाई छ । उहाँले विराटनगरको पोखरिया, सत्यनारायण झापा दकमको हिमालय मावि लगायतका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताउनुभयो ।
प्रदेशमा ३ हजार १ सय ३६ प्रावि, ९७२ निमावि, ६७९ मावि र ४८९ उच्च मावि छन् । प्रदेश सरकारले निरक्षर मुक्त जिल्ला घोषणाको तयारी गरेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले प्रदेशका १४ जिल्ला मध्ये ताप्लेजुङ र संखुवासभा बाहेक सबै निरक्षर मुक्त भएको बताउनुभयो ।
प्रदेश संसद खुल्नासाथ मन्त्रालयले हरेक दिन विधेयक प्रस्तुत गर्ने उहाँले बताउनुभयो । धेरै विधेयक तयार गर्नेमा सामाजिक विकास मन्त्रालय रहेको दावी गर्दै उहाँले ६ वटा विधेयक पाईप लाइनमा रहेको जानकारी दिनुभयो । संसद खुल्नासाथ हरेक दिन सामाजिक विकास मन्त्रालयको विधेयक प्रस्तुत गर्नेगरि तयारी भईरहेको मन्त्री घिमिरेको भनाई छ ।
गतिकासाथ काम अघि बढेको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता उपसचिव गोपीप्रसाद घिमिरेले चालु आर्थिक बर्षको हाल सम्ममा ६ वटा विधेयक मन्त्रीपरिषद्बाट सैद्धान्तिक सहमति भई अन्तिम स्वीकृतिका लागि पठाईएको बताउनुभयो ।
उहाँले हाल सम्म ९८ करोड २२ लाख १ हजार रुपैयाँ मन्त्रालयले निकासा गरेको बताउनुभयो । करिव २७ दशमलव ३५ प्रतिशत वित्तिय प्रगति भएको बताउनुभयो ।
मन्त्रालयले १३ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनौट गरि ५ लाखका दरले सम्मान गरिएको जनाएको छ ।
कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने गरि आवस्यक प्रकृया अघि बढाईएको मन्त्री घिमिरेले बताउनुभयो ।
अञ्चल अस्ताललाई ५ भित्रमा नमूना अस्पतालका रुपमा विकास गर्नेगरि मन्त्रालय लागि परेको बताउनुभयो । अञ्चल अस्पतालको तत्काल गर्नुपर्ने सुधारका लागि एक कार्यदल गठन गरि अध्ययन कार्य समेत पुरा भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपीप्रसाद घिमिरेले बताउनुभयो ।
चालु आर्थिक बर्षमा मन्त्रालयले गरेको कार्य प्रगतिबारे जानकारी दिदै उहाँले प्रदेश नं. १ मा मन्त्रालयले जेष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम शुरु गरेको बताउनुभयो ।
पाईलट प्रोजेक्टका रुपमा खोटाङको रावावेशी गाउँपालिकाका ५ सय जेष्ठ नागरिकलाई दात लगाउन कार्य गरिएको बताउनुभयो ।
मन्त्रालयले हरेक स्थानीय तहका स्वास्थ्य संयोजक समेतको सहभागितामा १४ जिल्लामा समीक्षा गोष्ठि गरिएको जनाएको छ ।