प्रकाशित : ३ पुष २०७५, मंगलवार १४:२४

विराटनगर, ३ पुस । नेपाली नागरिकताको प्रमाणपत्र लिने एकै परिवारका तीन भारतीय नागरिकलाई जिल्ला अदालत मोरङले कैद सजाय र जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दिपक खनालको इजलासले भारत अररिया जोगवनी नगर पञ्चायत वडा नम्बर १० का सन्तोशकुमार साह, उनका भाई नरेशकुमार साह र नरेशकी पत्नी रिङ्कीदेवी साहलाई जहनी दुई वर्ष कैद र ७५ हजार रुपैयाँका दरले जरिवानाको फैसला सुनाएको हो । सन्तोश भारतीय नागरिक गजेन्द्र साहका जेठो र नरेश माईलो छोरा एवं रिङ्कीदेवी माईली बुहारी हुन् । गजेन्द्रको भने मृत्यु भइसकेको छ । गजेन्द्रकी पत्नी पार्वतीदेवी र कान्छा छोरा धिरेन्द्रकुमारले समेत नेपाली नागरिकता लिएको कुरा अनुसन्धानका क्रममा खुलेको थियो ।

भारतीय नागरिक भए पनि उनीहरुले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको ठहर अदालतले गरेको छ ।
कैद सजाय सुनाइएका मध्ये सन्तोश मात्रै पक्राउ परेका छन् । अदालतको आदेशपछि उनलाई कैद सजाय भुक्तानका लागि सोमबार कारागार चलान गरिएको छ । उनका साथबाट प्रहरीले भारतीय नागरिक रहेको प्रमाणित हुने परिचय पत्र र नेपाली नागरिकताको प्रमाणपत्र एवं मतदाता परिचय पत्र फेला परेको थियो । नरेश र रिङ्कीदेवी फरार प्रतिवादीको सूचीमा छन् । नरेश विराटनगर आसपासमै रहे पनि पक्राउ गरिएको छैन ।

किर्ते, जालसाजी लिखत प्रमाण खडा गर्दै पेश गरेर नेपाली नागरिकता लिएको खुलेपछि सन्तोशलाई गत चैत २ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सन्तोश पक्राउ परेपछि उनका भाई नरेश र बुहारी रिङ्कीदेवी लगायत परिवारका सबै सदस्यले नेपाली नागरिकता लिएको खुलेको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि गत चैत २६ गते नै जिल्ला सरकारी वकिल कार्यालय मोरङले तीन जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा मुद्धा दर्ता गरेको थियो ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार तीनै जनाले लिएको नेपाली नागरिकताको प्रमाण पत्र भने रद्ध गर्ने आदेश अदालतबाट भएको छ । उनले फरार रहेका नरेशकुमार र रिंकीदेवीलाई पक्राउ गर्न अदालतले यस अघि नै पक्राउ पुर्जी जारी गरिसके पनि उनीहरु भने पक्राउ नपरेको बताउनुभयो ।

सन्तोश र उनका भाई नरेशले एकै दिन २०६४ साल जेठ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मको आधारमा ९१ र ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको पत्ता लागेको छ । दुबै जनाको नागरिकतामा जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालिन प्रशासकिय अधिकृत पर्वप्रसाद सापकोटाको हस्ताक्षर छ । नागरिकतामा बुवाको नाम स्वर्गिय गजेन्द्र साह उल्लेख छ ।
नेपाली नागरिकता प्राप्त गरेका सन्तोशले त्यसको १५ वर्ष अघि सन् २००३ साल जनावरी २ तारिकमा भारत अररियाको फारवेशगन्ज

इन्द्रनगर ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचय पत्र प्राप्त गरेको प्रमाण फेला परेको छ । जी वाई क्यू ११५१९७६ नम्बरको भारतीय परिचय पत्रमा बुवाको नाम गजेन्द्र साह नै उल्लेख छ । सन्तोशका भाई नरेशको ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचय पत्र छ । नरेशकी पत्नी रिङ्कीदेवीले १६६८९७७९ नम्बरको नेपाली मतदाता परिचय पत्र र १४२५४ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्र लिएको फेला परेको छ । रिङ्कीदेवीको नाममा सन् २०१० जुन १५ तारिकमा जारी भएको टिएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचय पत्र फेला परेको छ ।

भारतीयका परिवारैले नेपाली नागरिकता लिएको पुष्टि भए पनि तीन जनालाई मात्रै प्रतिवादी बनाएर मुद्धा चलाइएको थियो । सन्तोशका कान्छा भाई धिरेन्द्रका नाममा १८९६४८६४ नम्बरको नेपाली मतदाता परिचय पत्र जारी भएको रेकर्ड छ ।

आमा पार्वतीदेवीको नाममा जारी भएको टिएफएस ०१५१२९० नम्बरको भारतीय मतदाता परिचय पत्र प्रहरीले फेला पारेको छ । प्रहरीको अनुसन्धानबाट पार्वतीदेवीले नेपालबाटै विधव भत्ता लिने, नेपालमै मतदान गर्न जाने, विजुलीको विल उनकै नामबाट भुक्तानी हुने लगायतका काम गर्ने गरेको खुलेपछि उनको पनि नेपाली नागरिकता रहेको पुष्टि भएको थियो ।

नेपाली नागरिकता लिएपछि नरेश, पत्नी रिङ्कीदेवी र कान्छा भाई धिरेन्द्र काठमाडौंको कोटेश्वरमा केही वर्षदेखि मोटरसाइकल ग्यारेज संचालन गरेर बसिरहेको पत्ता लागेको थियो ।

नेपाली नगरिकता लिएपछि साह परिवार विराटनगर महानगरपालिका १६ (साविकको विराटनगर उपमहानगरपालिका २०) दरैयामा बसोबास गर्दै आएको प्रहरीले पत्ता लगाएको छ । नेपालमै जग्गा जमिन किनेर बसोबास गर्दै व्यापार व्यवसाय समेत संचालन गरिरहेको खुलेको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३