प्रकाशित : २७ मंसिर २०७५, बिहीबार १८:४१


विराटनगर, २७ मंसिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले आज धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालतको आदेश पछि पूर्पक्षकालागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहिवार उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । बिहिवार न्यायधिस नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिनुभयो ।
व्यवसायी दिपक मल्होत्राका साझेदार समेत रहेका भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणकालागि हुण्डी मार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो । गत असार ६ गते पक्राउ परेका पौद्दार सहित संजय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साहलाई दोस्रो पुरक अभियोगमा जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले गत भदौ १३ गते कारागार चलानको आदेश दिएको थियो ।
जिल्लाको आदेश पछि पुर्पक्षकालागि थुनामा रहेका पोद्दारले गत असोज १६ गते जिल्लाको आदेश बदरको माग सहित उच्च अदालतमा पुनरावेदन गरेका थिए । ६ पटक पेसी सरेको पोद्दारको मुद्दामा बिहिवार अन्तिम आदेश आएको हो ।
गत जेठ ८ गतेको आदेश पछि कारागारमा रहेका आरके भन्ने राजेन्द्रकुमार शाक्यले गत साउन १ गते उच्च अदालतमा निवेदन दायर गरेका थिए । शाक्यको हकमा २६ पटक पेसी सरेपछि २७ औ पटकमा धरौटीमा छाड्ने आदेश आएको हो ।
गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको सुन तस्करी प्रकरणमा दुई वटा पुरक सहित ७५ जना विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिव ३८ क्वीन्टल) आयात गरेको दाबि सहित जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरिएको थियो ।