Breaking News

दीपक निरौला
विराटनगर । शिक्षा जति बाँढ्यो त्यति नै बढेर जान्छ । यसको प्यास मेटाउन धेरै प्यासीहरु आउँछन् । कतिपय प्यास मेटाएर त्यही क्षेत्रमा समर्पित हुन्छन् । शिक्षा कहिल्यै नरित्तिने पवित्र क्षेत्र हो । यो क्षेत्रमा लाग्ने व्यक्तिले आफूलाई सधैंभरी पूर्नताजगी भने गरिरहनु पर्ने हुन्छ । पहिला बुझ्न अतिकठिन झनझन बुझ्यो झन कठिन भन्ने भनाई शिक्षा क्षेत्रमा लागूहुन्छ ।

१ नं. प्रदेशको राजधानी विराटनगरमा लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्व अमित ढकालका आरोह अवरोहलाई केलाउन प्रयास गरिएको छ ।

अमित ढकालको जीवन शैली सामान्य छ । आफ्नो कर्मक्षेत्रमा रमाउन माहिर ढकाल शिक्षा क्षेत्रमा विराटनगरको व्राण्डका रुपमा स्थापित व्यक्ति हुन भन्दा अत्युक्ति नहोला । सामान्य किसान परिवारमा २०३० सालमा पाँचथरको आरुबोटेमा जन्मिएका हुन् । घरदेखि टाढा १ घण्टाको दुरीमा रहेको स्कुलमा उनले कखरा आरम्भ गरे ।

उनका पिता शिक्षाको पारिलो घाम ताप्नबाट वञ्चित भएकाले आफ्ना सन्तानलाई भने शिक्षित बनाउने सपनाको रुमाल बुन्थे । उनका पिताको सपना आफ्ना सन्तान, दरसन्तानले पढिदिए पुग्छ, पैसा कमाउन पर्दैन भन्ने थियो । पिताका पुराना दिन स्मरण गर्दै ढकालले भने, ‘अरु कुरा नबुझेनी पढ्नु पर्छ भन्ने चाहिँ बुझको थिएँ ।’
उनका बुबाले सुरु गरेको शिक्षाको गोरेटोलाई गन्तव्य सम्म पुर्याउन सफल भएका छन् । सात कक्षा सम्मको अध्ययनलाई पाँचथरमै छोडेर

मोरङको हसन्दहमा कक्षा ८ बाट सुरुवात गरे । अमित ढकालको रोचक पक्ष भनेको १ कक्षादेखि १० कक्षासम्म कहिल्यै ‘सेकेन्ड’ भएनन् । सधैँ अध्ययनको दौडमा प्रथम । उनको बहादुरीलाई पराजित गर्ने साहस कसैले गर्न सकेनन् ।
२०४६ सालमा पञ्चायती व्यवस्थाका विरुद्ध देश ठूलो विद्रोहको भूमरीमा रुमलिई रहेको थियो । राजनैतिक पार्टी व्यवस्था परिवर्तनको लागि ज्यानको बाजी राखेर युद्ध मैदानमा होमिएका थिए । अमित भने गुँईठाको आगोमा फत्काएको बगडा चामलको भात खाएर अध्ययनलाई निरन्तरता दिइनै रहे । आन्दोलनको कुनै पनि बतासको झोक्काले उनलाई छुएन । बरु, ७४ प्रतिशत अकं ल्याएर मोरङ जिल्लाटप गरे ‘आइरन गेट’को परीक्षामा ।

बाबुको दीगो पेशा भनेकै खेती किसानी नै रह्यो । पाँचथरमै हुँदा लत्ताकपडाको व्यवसाय केही समय गरेपनि त्यसले खासै उँभो लाग्ने छाँटकाँट नदेखाएपछि त्यतिकै सकियो । हलो जोत्ने, आली लगाउने, भैंसीको ढाडमा बसेर विहानै शित चराउने, बेथुको साग उखेलेर खोले पकाउने ,धान काट्ने सम्पूर्ण काम अमितले गरे । त्यति मात्र नभएर मंसिर पुसको समयमा खमारमा रातभर गोरु नारेर दाँइ घुमाउन समेत पछि परेनन् । यतिका काम गरेर पनि पढाईमा भने सधैँ तेजिलो थियो । २०४६ मा प्रवेशिका परीक्षाको सर्टिफिकेट हात पारेपछि उनको गाँउ बसाई कम र विराटनगर बसाई ज्यादा हुन थाल्यो ।

महेन्द्र मोरङमा आईएस्सीमा भर्ना भए । त्यसताकाको विराटनगर बसाई अत्यन्तै कष्टकर रहेको उनका मानस्पटलमा आज पनि घामझैँ छर्लङ्ग छ । विद्यार्थी भनेपछि पहिलो कुरा कलेजको आसपास डेरा पाउन मुस्किल । पाईहाले घरवालाको विजुली पानीमा सधैं किचकिच । पसलेले उधारो नदिने । महिनाभरी खाएको उधारो तिर्न घरकै आशामा बस्नुपर्ने । खाली जर्किन बोकेर घण्टौसम्म पनि मट्टितेलको लाइनमा बस्नुपर्ने । पैसा अभावमा पेटभरी अघाँउजी खान नपाउने लगायतका यावत समस्याले पिरोले पनि पढाईको स्तर भने नखस्कने उनको विचित्रको प्रतिभा थियो ।

अध्ययनकालमा महेन्द्र मोरङ कलेजमा वायोलोजी ग्रुपमा ३ सय ५० जना विद्यार्थी अध्ययनरत थिए । त्यसमध्ये धेरै प्राईभेट स्कुलबाट एसएलसी पास गरेका धनाढ्य परिवारका सदस्यहरु थिए । सामुदायिक तर्फका नगन्य मात्रमा थिए । २०४८ सालको फाईनल आईएस्सीको रिजल्टमा जम्मा ७ जना विद्यार्थीमात्र पास भए । त्यसमा उनको प्रथम श्रेणी सुरक्षित नै रह्यो । ‘म लगायत ६ जना सामुदायिक विद्यालय पढेर आएका र १ जनामात्र प्राइभेट पढेका व्यक्ति पास भयौं ।’ अतितको कुरा स्मरण गर्दै उनले बताए । जस्तो सुक समस्या र अभाव भएपनि धैर्यताको बाँध नटुटाई बसियो भने सफलता हात लाग्छ भन्ने कुरामा उनी जानकार थिए ।

अभावको आहालमा नहडबडाई पौडन सकियो भने सहजै किनारा लाग्न सकिन्छ । जीवनका कष्टदायक यात्रामा नित्य सहभागी हुनबाट कहिल्यै नहिचकिचाउने अमित ढकालले बीएस्सी पनि प्रथम श्रेणीमै महेन्द्र मोरङ कलेजबाट पास गरे । अध्ययनलाई निरन्तरता दिंदै २०५७ सालमा विराटनगरकै डिग्री कलेजबाट एमएस्सी पास पास गरेपछि औपचारिक अध्ययनमा पूर्णविराम लाग्यो । उनका विद्यार्थीकालका आरोह यसरी नै चल्दै गए ।

उनको व्यवसायिक र व्यवहारिक पाटोको कथा कसरी अगाडि बढ्यो त ? संघर्षका वास्तविक कथाका पन्तुरा अमितले यसरी खोले ।
२०४८ सालमा बीएस्सी पढ्दै गर्दा आर्थिक अवस्था निम्छरो बन्दै थियो भने शैक्षिक स्तर चाहिं मजवुद । निम्छरो आर्थिक अवस्थालाई मजबुद बनाउन विराटनगरकै गुरुकुल माविमा अस्थायी शिक्षकको रुपमा भर्ती भए । मासिक १ हजार २ सय रुपैयाँ बनी पाउने शर्तमा । करिब ६ महिना काम गरेपछि त्यहाँबाट बिदा भए । त्यसपछि २०४९ सालदेखि विराटनगरको उत्तरी क्षेत्रमा अवस्थित एजेलिया सकेण्डरी स्कुलमा पढाउन थाले ।

करिब ६ वर्ष त्यहाँ काम गरे । यो समयमा कामगर्दै आफ्नो शैक्षिक बढोत्तरीलाई पनि पुरा गरे । २ हजार ५ सय रुपैयाँको तनखाबाट सुरु भएको एजेलिया यात्राबाट भविष्यको जग खन्न सुरु गरे । अर्थात् केही पैसा पढाईमा, केही जीवनयापन र केही बचतमा गरी कमाईलाई तीन क्लस्टरमा विभाजन गर्न थाले ।

रित्तो भाँडोमा थोपा–थोपा गर्दै जम्मा भएको रकमले मौलाउने मौका पायो । विस्तारै रित्तो भाँडोमा बढोत्तरीको आवाज आउन थाल्यो । यही क्रममा पोष्ट ग्राजुएसन (डिग्री) कलेजमा ३ वर्ष आंशिक शिक्षकको रुपमा रहे ।

केही समयको निखरतापछि पैसा र अनुभवको बलमा पोखरीया क्षेत्रमा जेम्स नाम जुराएर एउटा माध्यमिक सम्मको विद्यालय सञ्चालनमा ल्याए । यही समय विराट साइन्स कलेज र लर्डबुद्ध कलेजमा पनि शैक्षिक श्रम खन्याउन भ्याए ।

पूर्वाञ्चल क्षेत्रको विराटनगरलाई शैक्षिक हवको रुपमा स्थापित गर्ने कार्यमा अमित ढकालजस्ता शैक्षिक श्रमजीवीहरु अहिले पनि तल्लिन छन् । जसले गुणस्तरीय शिक्षा प्रदान गरेर काठमाण्डौ तथा विदेश पलायनको फ्लोलाई रोक्न प्रयासरत छन् । यही सोचाईको फलस्वरुप पैसा र प्रतिभा पलायनलाई रोक्नुपर्छ भन्ने सोचका साथ २०६४ सालमा अर्किड उच्च मावि सञ्चालनमा ल्याए ।

नेपालको परम्परागत शैक्षिक प्रणालीलाई युग सुहाउँदो विश्व परिवेश सँग प्रतिस्पर्धा गर्न सक्ने उद्देश्यका साथ २०७० सालदेखि विराटनगरको चाँदनी चोकमा निहारिका कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको स्नातक तहदेखि सूचना र प्रविधि सम्बन्धि विश्वपयोगी अन्तर्राष्ट्रिय स्तरको अध्यापन हुने गरेको छ । पूर्वाञ्चल क्षेत्रमै गुणस्तरीय शिक्षा दिने यस कलेजमा बीएस्सी सिएसआईटी –४ वर्ष, बीबीएस–४ वर्ष, बीएचएम –४ वर्ष, बीआईएम–४ वर्ष ,बीसीए –४ वर्षे कोर्षहरु ८ सेमेस्टरमा सञ्चालनमा आएका छन् । यसका साथै गतवर्षदेखि एमबीएस २ वर्षे कोर्षको मास्टर्स डिग्री समेत सञ्चालन हुन थालेको छ ।

निहारिका कलेजका क्याम्पस प्रमुख रहेका ढकाल अर्किड उच्च माविका सञ्चालक हुन् । जहाँ सञ्चालकबीच चक्रीय प्रणाली अनुसार प्रिन्सिपल हुने प्रावधान छ । एजेलिया स्कुल जसले सुरुका दिनमा काम गर्ने अवसर दियो र विराटनगरमा अडिने टेको दियो हाल उक्त स्कुलको सञ्चालक समितिको अध्यक्ष रहेका छन् । यसैगरी कटहरी गाउपालिकाको नयाँ बजारमा अवस्थित नेशनल एकेडेमीका डाइरेक्टर समेत रहेका छन् ।पढाईमा अब्बल व्यक्तित्व, साइन्सको विद्यार्थी, मेडिकल लाईनतिर किन नलाग्नु भएको त ? भन्ने प्रश्नमा ‘आईएस्सी पास गरेपछि के पढ्नुपर्छ भन्ने थाहा नभएर यता लागेको ।’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।

धेरै युवा विदेश पलायन भईरहेका छन् । तर, नेपालका ठूलाठूला आयोजनामा विदेशीले मोटो पारिश्रमिकका साथ काम गरिरहेका छन् । नेपाल सुहाउादो शिक्षा गणतन्त्र आएको यत्तिका वर्ष वित्दासम्म पनि आउन नसक्नु दुःखद रहेको उनको ठम्याई छ । व्यवहारिक र प्राविधिक शिक्षामा राज्यले जोड दिनुपर्छ । तल्लो तहदेखि नै ऐतिहासिक राजा र व्यक्तिका सुधार, शासनकाल पढाउनुभन्दा भोलीका पुस्ता कसरी समृद्ध र विकशित हुन्छन् भन्ने तर्फ सोचेर पाठ्यक्रम परिमार्जन गर्नुपर्छ । विकशित देशहरु प्रविधिको विकासले नै अगाडि बढेको हुँदा नेपाल सुहाउँदो प्राविधिक उत्पादन गरेर राष्ट्र निर्माणको काममा लगाउनुपर्ने उनको निश्कर्ष छ ।

नेपालका प्राइभेट स्कुल/ कलेज ज्यादै महंगा भए भन्ने आरोपलाई उनी यसरी स्पष्ट पार्छन् । सामुदायिक विद्यालयमा अध्यापन गराउने प्रावि तहको शिक्षकको पारिश्रमिक २५ हजार । प्राइभेटको ५ हजार । अन्तर २० हजार । लगानी २५ हजार राज्यको । ५ हजार लगानी व्यक्तिको ।
सामुदायिक विद्यालयका शिक्षकलाई राज्यले तालिम दिन्छ । प्राइभेटका आफैं खारिन्छन् ।

पाठ्यक्रम दिइन्छ आफैं ‘अपडेट’ हुन्छन् । अन्य मूलुकमा सरकारी स्कुल/कलेजमा छनौटमा नपरेका कम गुणस्तरीय विद्यार्थी प्राइभेट स्कुल/ कलेज जान्छन् । तर, नेपालमा त्यसको ठिक विपरित गुणस्तरीय प्राइभेटमा र कम गुणस्तरीय सरकारीमा जाने परिपाटी छ ।

सरकारी क्षेत्रमा म्यानेजमेन्ट राम्रो नभएका कारण समस्या भएको हो । म्यानेजरलाई पूर्ण अधिकार नदिएर बञ्चित गराईएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई आफ्ना शिक्षक कर्मचारीले जिम्मेवारी कूशलतापूर्वक बहन नगरे तलब काट्ने, सेवा गर्नबाट रोक्ने र बर्खास्त गर्नेसम्मको अधिकार दिने हो भने १ वर्षमा नेपालका सामुदायिक स्कुल/कलेजमा कायापलट हुने उनको दावी छ ।

त्यतिमात्र नभएर राम्रा र गुणस्तरीय विद्यार्थीलाई सरकारीले लिएर कम गुणस्तरीय नीजि क्षेत्रलाई दिन उनी चुनौती दिन्छन् । कम गुणस्तरीय

विद्यार्थी नीजिक्षेत्रका भागमा परुन् तिनलाई हामी अब्बल बनाउने चुनौतीको सामना गर्न हरहमेसा तत्पर रहेको उनी बताउँछन् ।
देशमा जतासुकै भ्रष्टाचार छ । सरकारी श्रोत साधनको चरम दुरुपयोग छ । यस्ता वेथिति रोक्न नीजि शैक्षिक क्षेत्रले पाठ्यक्रममा भ्रष्टाचार न्यूनीकरणका प्रभावकारी कुरा समावेश गर्नुपर्दैन ? भन्ने प्रश्नको सहज उत्तर यसरी दिन्छन् ।

नैतिक शिक्षा पाठ्यक्रमबाटै हटाउने काम सरकारले गर्यो । भ्रष्टाचार गर्दा पाप लाग्छ भन्ने मान्यता बालबालिकामा स्थापित गर्नुपर्छ । अहिले सरकारी कर्मचारीलाई भ्रष्टाचार गर्दिन भनेर कार्यालय प्रवेश र बहिर्गमनका क्रममा भनाउनुको सट्टाबालबालिकालाई विहान बेलुका आफ्ना अभिभावकलाई साक्षी राखेर भ्रष्टाचार गर्नु भनेको महापाप हो भनेर भन्न लगाउँदा प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३