प्रकाशित : १८ मंसिर २०७५, मंगलवार १६:२८


विराटनगर, १८ मंसिर । फायरिङका क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एक प्रहरी जवान राजेन्द्र यादव घाइते हुनु भएको छ ।
प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी शहकुलबहादुर थापाले प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा आज दिउँसो गोली लागेर सिरहा घर भएका २७ वर्षीय यादव घाइते हुन पुगेको बताउनु भयो ।
यादवको देव्रे हातको हत्केला पार गरेर गोली बाहिर निस्किएको छ । उहाँ प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने प्रशिक्षक हुनु हुन्थ्यो । प्रशिक्षार्थी प्रहरीहरुलाई फायरिङ गराउने क्रममा दिउँसो २ बजे घटना भएको हो ।
‘नयाँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्कियो र त्यही बेला सफा गरेर पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर घटना हुन पुगेको एसएसपी थापाले बताउनु भयो ।
तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएका प्रहरी जवान यादवलाई थप उपचारका लागि दिउँसो साढे ३ बजे काठमाडौं लगिएको छ । यादवको अवस्था भने खतरामुक्त रहेको गोल्डेन अस्पतालले जनाएको छ ।