Breaking News

कटहरीका किसान तरकारीबाट मनग्ये आम्दानी गर्दै

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १३:०१

विराटनगर, १७ मंसिर । मोरङको कटहरी–४ का शिवचरण कामतको दैनिकी खेतबारीमै वित्छ । बारीमा रोपेको बन्दा र काउलीको बिरुवाको गोडमेलमै उहाँ व्यस्त हुनुहुन्छ ।

बन्दा र काउली पछि गोलभेडाँ र काँक्रा रोप्ने उहाँको तयारी छ । केही दिन अघिसम्म उहाँ तीतेकरेला टिपेर बजार पुर्याउन ब्यस्त हुनुहुन्थयो । यस बर्ष झण्डै सात कठ्ठा जमिनमा बेमौसमी तीतेकरेलाको खेती गर्नु भएका शिवचरणले त्यसबाट मात्रै तीन लाख रुपैयाँ आम्दानी गर्नुभयोे ।

तराईमा हुने, मूला, काँक्रा, गोलभेँडा, काउली, बन्दा, खुर्सानीको तरकारीको खेती गर्दै आएका शिवरचरणको तरकारी खेतीबाट मात्र बार्षिक ८ देखि दश लाखसम्म आम्दानी हुन्छ । सबै खर्च कटाएर पनि कमाईको झण्डै आधा बचत हुन्छ । तरकारी खेतीकै आम्दानीबाट उनले कटहरीमा डेढ विघा जमिन खरिद गरेका छन् । चार छोरा–छोरीको पढाई र विवाह खर्चको गर्जो समेत टारिसक्नु भएको छ ।

मोरङको जदाह–४ का पवनकुमार सिंहको कहानी पनि उस्तै छ । भदौ असोजमा बेमौसमी बन्दा उत्पादन गरेका पवनको बारीमा अहिले लौका, काउली, बन्दा,खुर्सानी र जरेसीमी हुर्कदै छ । अबको १५ दिनमा पुनः बन्दा निस्कन्छ । हिँउद मौसममा तीन बिघासम्म र डेढ बिघामा बर्षभरी नै तरकारी खेती गर्दै आएका पवन भन्नुहुन्छ –“बजार भाउ राम्रो आयो भने तरकारीबाट बर्षको आठ लाखसम्म कमाई हुन्छ, केही नहुँदा पनि बार्षिक चार लाख कतै जाँदैन । ”

भारतको उडीसामा कम्प्युटर इन्जिनियर र गाउँकै शैलजा आचार्य मेमोरियल पोलिटेक्निकमा जेटिए पढ्दै गरेका छोरा र छोरीको बार्षिक पढाई खर्चमा आफुलाई कुनै समस्या नभएको पवनको भनाई छ । उहाँ भन्नुहुन्छ–“छोरा छोरीको पढाई देखि बिरामी हरामी पर्दा समेत पैसाको समस्या हुँदैन ।”

सोही ठाउँका नगेन्द्र सिहं पनि तरकारी खेतीबाट सबै खर्च कटाएर बार्षिक तीन लाख बचत गर्ने गरेको बताउनुहुन्छ । शिवचरण, पवन र नगेन्द्र मात्र होईन मोरङ कटहरी र शिशवनी जहदाका झण्डै चार सय घर धुरी भन्दा बढीका यूवाहरु आफ्नै बारीमा परिश्रमगरि बार्षिक १० लाख सम्म आम्दानी गर्छन । उनीहरुलाई बार्षिक दुई चार लाख कमाई गर्न बैदेशिक रोजगारीमा जानु पदैन ।

यस क्षेत्रमा बसोबास गर्ने सिंह (कुशहा), मेहता जातिका अधिकाँस घर परिवारले तरकारी खेतिलाई नै आफ्नो मुल पेशा बनाएका छन् । तरकारी खेती बाहेक उनीहरु बर्षको एक बाली धान उत्पादन गर्छन । आफ्नै बारीमा आम्दानी हुन्छ, विदेश जाने सोचाई नै छैन”–नगेन्द्र सिंह भन्नुहुन्छ ।
लोहन्द्रा खोलाको किनारमा रहेको यो ठाउँ तरकारी उत्पादनको हिसावले मोरङकै सबैभन्दा ठूलो तरकारी उत्पादन क्षेत्र हो । यस क्षेत्रको झण्डै एक हजार हेक्टर क्षेत्रमा तरकारी खेती हुने गर्दछ ।

लोहन्द्रा खोलाको किनार भएकाले बलौटे माटोका कारण तरकारीका लागि त्यो क्षेत्र उपयुक्त भएको विराटनगर स्थित प्रदेश कृषि निर्देशनलयका कृषि अधिकृत राजेन्द्र उप्रेती बताउनुहुन्छ । यस्तो माटो चाँडै सुक्ने भएकाले धान बालि पछि लगत्तै तरकारी खेती गर्न सजिलो हुने उहाँको भनाई छ ।

तरकारीका लागि माटो सँगै बजारले पनि साथ दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । दुई देखि १० किलो मिटरको दुरीबाट बारीको तरकारी विराटनगरको बजार पुर्याउन सकिन्छ । हुन त कटहरीको तरकारी बिराटनगर मात्र नभएर पूर्वाञ्चलको धरान, बिर्तामोड देखि नारायण घाटसम्म पुग्ने गरेको तरकारी व्यवसायीको भनाई छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३