Breaking News

विराटनगरको जनता नमूनामा राजनैतिक हस्तक्षेप

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १६:४०

विराटनगर, १६ मंसिर । विराटनगरको इज्जत र प्रतिष्ठासंग जोडिएको विराटनगर महानगरपालिका २ मा रहेको जनता नमूना उच्च माध्यमिक विद्यालय हस्तक्षेप र व्यक्तिगत स्वार्थका कारण धाराशायी बन्दै गएको छ ।

राजनैतिक हस्तक्षेप र आन्तरिक किचलोले विद्यालय अन्यत्र गाभ्नु पर्ने स्थिती आएको छ । विद्यालयको शैक्षिक वातावरण धुमलिंदै गएको पाइएको छ ।

२०३५ सालमा पूर्वाञ्चलकै सर्वोत्कृष्ट नतिजा ल्याएर नमूना घोषित विद्यालय अहिले नाम मात्रको छ । विद्यालयमा बढ्दै गएको अशैक्षिक वातावरणका कारण विद्यार्थी संख्या पनि दिनप्रतिदिन घट्दै गएको छ । विद्यालयमा गुणस्तरिय पढाई हुन छाडेपछि अभिभावकहरु आफ्ना छोरा छोरीको पठन पाठनका लागि विकल्प खोजीमा लागेका छन् । यहाँ अहिले कक्षा १२ सम्म पढाई हुने विद्यालयमा एक सय ५० जना मात्रै विद्यार्थी छन् ।

विद्यालयका पूर्व कर्मचारी विजय सापकोटाका अनुसार राम्रो पठन पाठन हुँदा पूर्वकै उत्कृष्टमा परेको यो विद्यालयमा एक शैक्षिक सत्रमा एक हजार पाँच सय सम्म विद्यार्थी हुन्थे । तर अहिले यही विद्यालयको कक्षा ११ पूरै खाली छ ।

कक्षा १२ चार जना मात्रै विद्यार्थी छन् । शिक्षक २० र कर्मचारी सात जना छन् । २००९ सालमा स्थापना भएको विद्यालयका पूर्व कर्मचारी सापकोटाका अनुसार विद्यार्थी संख्या २०६८ सालदेखि निरन्तर रुपमा ओरालो लाग्दो छ । ‘विज्ञान विषय पढाई हुने सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण हुनु पर्ने हो,’ उहाँले भन्नु भयो, ‘तर ठिक विपरित दिनप्रतिदिन विद्यार्थी संख्या घट्दो छ ।’ सापकोटाले राजनैतिक दलले आफू अनुकूल संचालन गर्न खोज्दा र राजनैतिक पहुँचका भरमा शिक्षक थोपर्ने गर्दा र आन्तरिक खिचातानी तथा किचलो बढ्दा विद्यालय त्यसको चपेटामा परेको बताउनु भयो ।

दुई वर्षदेखि विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा भौतिक संरचना विस्तार, शैक्षिक अवस्थाको निगरानीदेखि लिएर अन्य काममा समेत बाधा उत्पन्न भइरहेको एक शिक्षकले बताए । शिक्षक प्रतिनिधी, वडा अध्यक्ष, प्रअ तथा असारमा चुनिएका चार समेत गरेर सात सदस्यीय समिति बनेको छ ।

नौ सदस्यीय व्यवस्थापन समितिमा दुई जना मनोनित गर्न बाँकी छ । नयाँ शिक्षा नियमावली अनुसार बुद्धिजिवी र शिक्षाप्रेमीबाट गर्नु पर्ने बाँकी एक/एक जना मनोनितका सवालमा तनाव उत्पन्न हुँदा व्यवस्थापन समिति पूर्ण बन्न सकेको छैन । व्यवस्थापन समितिलाई पूर्णता दिनका लागि भनेर गत शुक्रबार बसेको बैठकमा समेत शिक्षक प्रतिनिधी शिलाराज नेपालीले अभिभावक प्रतिनिधी ममता कर्णमाथि हातपात गरेपछि बैठक स्थगित भएको थियो ।

विद्यालयका प्रधानाध्यापक विजयकुमार रौनियारले राजनैतिक हस्तक्षेप, व्यक्तिगत स्वार्थ र आन्तरिक किचलोका कारण विद्यालय धाराशायी बनिरहेको बताउनु भयो । उहाँले एउटा ठूलो झुन्ड विद्यालयलाई सपार्न भन्दा पनि विगार्नतर्फ लागिरहेको आरोप लगाउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३