प्रकाशित : १२ मंसिर २०७५, बुधबार १७:५७


विराटनगर, १२ मंसिर । विराटनगरमा तीन वटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउँदै आएका मोरङको लेटाङ घर भएका गुणराज ओझालाई प्रहरीले पक्राउ गरेको छ ।
ओझालाई प्रहरीले गयराती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट पक्राउ गरेको हो । ओझाबाट ठगिएका ५० भन्दा बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गरेपछि पहरीले पक्राउ गरेको हो ।
अदालतले पक्राउ पूर्जी लिएपछि ओझालाई विराटनगरबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।
ओझा विरुद्ध ठगी मुद्धा चलाउन अदालतबाट आज म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
ओझाले नक्कली कम्पनी खडा गरेर अधिकृतदेखि पियन सम्मको पदमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगेको खुलेको । तलवको साटो नियुक्त गरिएका कर्मचारीबाटै प्रतिव्यक्ति पाँचदेखि एक लाख ३५ हजार रुपैयाँ सम्म असुलेको खुलेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आफू विश्वास पात्र रहेको बताउने ओझाले विराटनगर महानगरपालिका–४, कञ्चनवारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र विजनेस म्यानेजमेण्ट ग्रुप (वीएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए ।