प्रकाशित : ११ मंसिर २०७५, मंगलवार १८:४१


विराटनगर, ११ मंसिर । चालु आर्थिक बर्ष २०७५/०७६ को चार महिनामा प्रदेश नं १ सरकारले पुँजीगत तर्र्फ दुई करोड ५८ लाख खर्च गरेको छ । सो रकम पुँजीगत तर्फ विनियोजित कुल रकमको ० दशमलव १३ प्रतिशत हो ।
चालु आ.ब.मा प्रदेश सरकारले पुँजीगत तर्फ १८ अर्ब ८७ करोड ८४ लाख विनियोजन गरेको थियो । पुँजीगत तर्फ भएको खर्च पनि कार्यालयहरुको मर्मत संभारमा भएको प्रदेश नं १ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बालकृष्ण थापाले बताउनुभयो ।
प्रदेश सरकार अन्तर्गतका संरचनाहरु पूर्णरुपमा स्थापना भईनसकेको र स्थापना भएका संरचनाहरुमा पनि कर्मचारीको पदपूर्ति हुन नसक्नु तथा कर्मचारी भएका कार्यालयहरुमा पनि रकमको अख्तियारी नहुनु जस्ता कारणले पुँजीगत खर्च हुन नसकेको प्रदेश नं १ लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी अन्तिम आचार्यले बताउनुभयो ।
चालु खर्च तर्फ भने प्रदेश नं १ ले ५३ करोड नौ लाख खर्च गरेको छ । सो शिर्षकमा प्रदेश सरकारले चालु आबमा रु १४ अर्ब ५५ करोड ३५ लाख बिनियोजन गरेको थियो । प्रदेश सरकारको मात्र होईन मोरङमा संघीय सरकारको बजेटको पुँजीगत खर्चको अवस्था पनि उस्तै छ ।
चालु आबमा संघीय सरकारबाट मोरङमा पुँजीगत खर्च तर्फ निकासा भएको दुई अर्ब २१ करोड ८४ लाख मध्ये चार महिनाको अवधिमा रु ३० करोड ७९ लाख मात्र खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङ्गका प्रमुख किशोरकुमार बरालले बताउनुभयो । चालु खर्च तर्फ भने संघीय सरकारको सात अर्ब ४५ करोड १९ लाख खर्च भएको छ ।
जसमध्ये ६ अर्ब नौ करोड १४ लाख प्रदेश सरकार र स्थानीय तहमा निकासी भएको जिल्ला कोष नियन्त्रण कार्यालय मोरङले जनाएको छ ।