Breaking News

विराटनगरबाट हतियार र लागूऔषध सहित तीन पक्राउ

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १८:४३

विराटनगर, १० मंसिर । प्रहरीले विराटनगरबाट हतियार र लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरी र काठमाडौंमा सेक्युरिटीको काम गर्दै आएका ३६ वर्षीय रुपम राई रहेका छन् । मण्डलका साथबाट पेस्तोल, गोली र एक सय ८० पिस लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

गिरीका साथबाट दुई सय पिस लागूऔषध बरामद भएको थियो । शरीरमा टेपले बाँधेर फिट गरेर ल्याएको अवस्थामा हतियार र लागूऔषध बरामद भएको प्रहरीका एक अधिकारीले जानकारी दिए । मण्डल र गिरीले भारतको बथनाहाबाट ल्याएको हतियार राईलाई दिन लाग्दा तीनै जना पक्राउ परेका हुन् । भारतमा मण्डल र गिरीलाई कसले हतियार दिएको हो र काठमाडौंमा कसका लागि लैजान लागिएको थियो भन्ने कुरा खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले एउटा पेस्तोल सम्बन्धीत ठाउँमा पुर्याइदिए बापत प्रति व्यक्ति चार हजार रुपैयाँ लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार साँझ पक्राउ परेका तीनै जना विरुद्ध प्रहरीले आज जिल्ला अदालत मोरङबाट हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार नेपालमा अपराध धन्दा चलाउनका लागि अवैध हतियार ओसार्ने ठूलै गिरोह सक्रिय रहेको जानकारी पक्राउ परेकाहरुबाट प्राप्त भएको छ । पछिल्लो पटक पक्राउ परेका तीन सहित एक साताको अवधिमा विराटनगरबाट मात्रै हतियार सहित पक्राउ पर्नेको संख्या पाँच पुगेको छ ।

गत सोमबार विराटनगरको कोसी प्रोजेक्टबाट उदयपुरका मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र गोली सहित प्रहरीले पक्राउ गरेको थियो । तामाङले हतियार सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खनारका सुशील साहलाई बुझाउन ल्याएको खुलेपछि प्रहरीले मंगलबार साहलाई पनि पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३