प्रकाशित : १० मंसिर २०७५, सोमबार १२:५१


विराटनगर, १० मंसिर । प्रहरीले पेस्तोल सहित दुई जनालाई विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर बसपार्कबाट आईतबार साँझ पक्राउ परेका दुबै जनाको नाम र ठेगाना भने प्रहरीले खुलाएन ।
भारतबाट ल्याउँदै गरेको पेस्तोल सहित उनीहरुलाई प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बतायो । प्रहरीले पक्राउ परेका दुबै जना लामो समयदेखि भारतबाट अवैध हतियार ओसारपसारमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । ‘पक्राउ परेका व्यक्तिहरुले दिएको वयानका आधारमा हामी हतियारको ओसारपसार र कारोवार गर्ने ठूलो गिरोह सम्म पुग्दैछौं,’ एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर उनीहरुका बारेमा सबै कुरा खुलाइहाल्न मिल्दैन ।’
क्षेत्रीय अनुसन्धान समूहको टोलीले पक्राउ गरेर दुबै जनालाई आवश्यक अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ । उनीहरुबाट मेड इन युएसए लेखिएको पेस्तोल बरामद भएको छ । भारतबाट ल्याइएको पेस्तोल काठमाडौंतर्फ लैजान लाग्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिनु भयो । ‘उनीहरुका बारेमा विशेष ढंगले अनुसन्धान थालिएको छ,’ केसीले भन्नु भयो, ‘त्यही भएर सबै कुरा खुलाइहाल्न सक्ने स्थिती छैन ।’ उहाँले पक्राउ परेकाको नाम तत्कालै खुलाइहाल्दा उनीहरुसंग कनेक्सन भएका अन्य व्यक्तिहरु फरार हुने पनि बताउनु भयो ।
प्रहरीले एक साता अघि हतियार सहित उदयपुरका मन्दिप तामाङ र सुनसरी खनारका सुशील साहलाई पनि गरेको थियो ।