प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १०:४७

विराटनगर , ४ मंसिर । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ (इन्धन) ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्यांकर चालकहरुले सोमबार साँझबाट आफ्नो आन्दोलन फिर्ता लिएका छन् ।

पेट्रोलियम ढुवानीका क्रममा भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै त्यसको विरोधमा ढुवानी ठप्प पारेर चालकहरु उत्रिएका थिए । भारतको बरौनीबाट पेट्रोल लोड गरेर नेपालतर्फ आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि गत शनिबार विहान ४ बजे भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए ।

त्यस लगत्तै आन्दोलनमा उत्रिएका चालकले दुई दिन सम्म इन्धन ढुवानी ठप्प पारे । चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनु पर्ने, नेपाली ट्यांकर चालकमाथिको दुरव्यवहार रोकिनु पर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, जतिबेलै जाम भइरहेको सडकको विकल्प खोजिनु पर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए ।

यस घटनामा भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा चालकमाथि कुनै पनि दुरव्यवहार नगर्ने प्रतिवद्धता जनाएपछि सोमबार साँझबाट आन्दोलन फिर्ता लिएर चालकहरुले इन्धन ढुवानी सुचारु गरेका छन् ।

चालकहरुले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरको डिपोबाट समेत पूर्वका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्प सम्म पनि लोड अनलोड नगरिदिंदा इन्धनको अभाव सुरु हुन थालेको थियो ।

चालकको आन्दोनलका कारण नेपालबाट इन्धन लिनका लागि गएका एक सय ७० वटा ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमै रोकिएका थिए । चालकको आन्दोलन फिर्ता भएसंगै रोकिएका सबै ट्यांकर नेपाल भित्रिएका छन् । भारतको जोगवनीमा सोमबार दिउँसो नेपाल र भारतका अधिकारीबीच भएको दुई पक्षिय वार्तामा भारतीय पक्षले गल्ती स्वीकार गरेको हो ।

बार्तामा भारतीय पक्षबाट अररिया जिल्लाका प्रमुख, जोगवनीका मेयर लगायत भारतीय सुरक्षा अधिकारीका प्रमुखहरु थिए । नेपालका तर्फबाट विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्य लगायत थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३