प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १०:३८

विराटनगर, ४ मंसिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरीका उच्च अधिकारी सहित अन्य प्रतिवादी विरुद्धको मुद्धा सर्वोच्च अदालत सम्म पुग्ने भएको छ ।

उनीहरु विरुद्ध सर्वोच्चमा १७ नम्बर निवेदन दर्ता गरिने भएको हो । तल्लो अदालतको आदेश चित्त नबुझेमा सरकारी वकिल कार्यालयले आदेश बदरको माग गर्दै माथिल्लो अदालतमा यो निवेदन दर्ता गर्छ । सुन तस्करीमा मुछिए पनि उच्च अदालत विराटनगरको आदेशपछि छुटेका प्रहरी अधिकारी र अन्य प्रतिवादीका सम्बन्धमा उच्चको आदेश बदर र उनीहरुलाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्नु पर्ने माग सहितको निवेदन उच्च सरकारी वकिल कार्यालय विराटनगरले दर्ता गर्ने भएको हो ।

कार्यालयका प्रमुख चिरञ्जिवी पराजुलीले उच्चको आदेश चित्त नबुझेका कारण उक्त आदेश बदर गर्दै साधारण तारेखमा छुटेकालाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गरिनु पर्ने माग राखेर सर्वोच्च जाने तयारी भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार पहिलो चरणमा सुन तस्करीमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल र सुन तस्करी तथा सनम हत्याका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीका सहयोगी राम तिवारी विरुद्ध सर्वोच्चमा १७ नम्बर निवेदन दर्ता गरिने छ । अभियुक्त मदन सिलवाल र प्रभाव अग्रवालको आदेशको पनि नक्कल झिकाएर सर्वोच्चमा मुद्धा दायर गरिने भएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका प्रहरीका उच्च अधिकारीहरु पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल डीएसपी प्रजित केसीलाई उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

सुन तस्करीमा मुछिएका व्यापारी सञ्जय खेतान भनिने प्रभाव अग्रवाल, गोरेका सहयोगी मदन सिलवाल र रामकुमार तिवारीलाई उच्चले धरौटीमा छाड्न आदेश दिएको छ ।

पौडेल नेतृत्वको समिति र प्रहरीको छानविन तथा अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करी प्रकरणमा मुछिएका निरौला सहित ६३ जना विरुद्ध गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३