प्रकाशित : १ मंसिर २०७५, शनिबार १६:३२


विराटनगर, १ मंसिर । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आज भव्य नागरिक अभिनन्दन गरिएको छ ।
विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय बिताउनु भएका ८३ वर्षीय अधिकारीलाई अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अभिनन्दन गरिएको हो ।
२०४६ सालको राजनीतिक आन्दोलनअघि विराटनगरमा ल फर्म चलाएर बस्नु भएका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लाग्नुभएको थियो । उहाँले २०४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेल्नुभएको थियो । उहाँ २०४८, ०५१ र ०५६ तत्कालिन मोरङ क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएको थियो ।
भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिद्धारा आयोजित कार्यक्रममा पुर्वमन्त्री अधिकारीले विराटनगरलाई स्थायी राजधानी बनाउनु पर्ने बताउनुभयो ।
विराटनगरबाट ६ जना प्रधानमन्त्री ३ जना उपप्रधानमन्त्री बने तर यहाँको मुहार फेर्न सकेनन भन्दै उहाँले भन्नुभयो,‘ अस्थायी हैन अव स्थायी राजधानी नै बनाउनुहोस् ।’ अन्य प्रदेशले प्रदेशको नाम र राजधानी घोषणा गरिसकेको भन्दै ढिला नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले भरतमोहन अधिकारी इमान्दार नेता भएको बताउनुभयो । सानैदेखि राजनीति र अध्ययनमा अब्बल भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री शेरधन राईले नेपाली राजनीतिलाई ठिक ढंगले दिशा निर्देश गर्ने क्षमता भरतमोहन अधिकारीमा भएको बताउनुभयो ।
आफ्नो राजनीतिको प्रेरणाको श्रोत पनि उहाँको भएको मुख्यमन्त्री राईको भनाई छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मुकुन्द न्यौपाने, सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरंग व्यापार संघका अध्यक्ष पवन सारडा लगायतले बोल्नु भएको थियो ।