Breaking News

जुवा खालको पैसा लुकाएको विषयमा प्रहरीमाथि छानविन

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १५:४६

विराटनगर, २९ कात्तिक । तास र जुवाको खालमा छापा मार्ने क्रममा फेला परेको पैसा लुकाएको आरोप लागेपछि मोरङ प्रहरीमाथि छानविन थालिएको छ ।

खालमा धेरै पैसा फेला पर्ने तर प्रहरीले लुकाएर थोरै पैसा मात्रै बाहिर देखाउने गरेको विषय सार्वजनिक भएपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले छानविन र अनुसन्धान थालेको हो । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले छानविन समितिनै गठन गरेर आजबाट यस विषयमा आन्तरिक रुपमा छानविन र अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

उहाँले आन्तरिक रुपमा छानविन समिति बनाएर कारवाहीको प्रक्रिया अघि बढाइएका कारण कसको नेत्रृत्वमा छानविन समिति गठन गरियो भनेर बाहिर ल्याउन नसकिने बताउनु भयो । ‘प्रहरीले नै लुकाएर जुवाको खालमा फेला परे जति पैसा सार्वजनिक नगर्ने गरेको गम्भीर आरोप लागेको छ,’ रिजालले भन्नु भयो, ‘यसले सिंगो प्रहरी संगठनको बद्नाम गर्नुका साथै प्रहरीको काम कारवाही प्रति अनविश्वास बढाएर लगेको छ ।’ उहाँले छानविनका क्रममा जुवा खालमा भेटिएको पैसा लुकाएको आरोप प्रमाणित भए प्रहरीमाथि कारवाही अघि बढाइने जानकारी दिनु भयो । डीआईजी रिजालले गठन गरेको छानविन समितिले जुवा खालमा छापा हान्न जाने प्रहरीका इन्चार्ज, घुमुवा र अन्य प्रहरी तथा जुवा तास खेल्दै गर्दा पक्राउ परेका लगायतसंग सोधपुछ गर्ने छ ।

तास खेल्दै गरेको अवस्थामा मोरङको बुढीगंगा गाउँपालिका १ बाट पक्राउ परेका विराटनगरका पाँच नामुद उद्योगी व्यवसायी जिल्ला प्रशासन कार्यालय मोरङले मागेको जनही १२/१२ हजार रुपैयाँ धरौटी बुझाएर हिजो बाहिर निस्किए लगत्तै जुवा खालको पैसा लुकाएको आरोप प्रहरीले खेप्नु परेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेत्रृत्वको टोलीले गत आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिका १ स्थित उद्योगी चम्पालाल राठीको उद्योगको गोदाममा छापा मार्दा तास खेलिरहेको भेटेपछि उद्योगी व्यवसायी ६९ वर्षीय चम्पालाल राठी, ५० वर्षीय जीवन रिजाल, ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई पक्राउ गरेको थियो ।

प्रहरीले घटनास्थलबाट १७ बुङ तास र एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकम समेत बरामद गरिएको सार्वजनिक गरेको थियो ।

पक्राउ परेपछि धरौटीमा छुटेका जुवाडे व्यापारीले खालबाट कम्तिमा १० लाख रुपैयाँ प्रहरीले लिएर गए पनि थोरै मात्रामा रकम देखाएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३