प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १७:३६


विराटनगर, १९ कात्तिक । जिल्ला अदालत मोरङले सात भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका सत्यनारायण पोद्दारलाई पुर्पक्षकालागि थुनामा राख्न आज आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायधिस महेन्द्रप्रसाद पोखरेलको इजलासले पोद्दारले झुठा विवरण पेस गरी नागरिकता बनाइदिएको देखिएको उल्लेख गर्दै पुर्पक्षकालागि कारागार चलानको आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाले मुलुकी ऐन फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ बमोजिम तत्काकालाई पुर्पक्षमा राखेर मुद्दाको प्रकृया अघि बढाउन आदेश भएको जानकारी दिनु भयो । २०७१ साल पुस यता पोद्दारले सात जना भारतीय नागरिकलाई आफ्नो छोरा भएको भन्दै झूठो विवरण पेस गरी नागरिकता बनादिएको खुलेको छ ।
अदालतमा बयानका क्रममा नागरिकता बनाइदिएका सातै जना आफ्नो छोरा भएको बयान दिएका पोद्दारले श्रीमतीको नाम भने गल्ती भएको स्वीकार गरेका थिए । हिजो झुठा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दा दायर गरिएको थियो ।
सो मुद्दामा विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सीना सहित १५ जना फरार छन् ।