प्रकाशित : १७ कार्तिक २०७५, शनिबार १८:४६


विराटनगर, १७ कात्तिक । एक बर्षको अवधीमा २ जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको रहस्य खुलेपछि विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव (नानीबाबु) अर्याल फरार हुनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले वडाको सिफारिस छानविन गर्न निर्देशन दिएपछि मोरङ प्रहरीले किर्ते कागज बनाई बुबा बनेर नागरिकता दिलाउन खोज्ने सत्यनारायण पोद्दारलाई पक्राउ गरेको थियो ।
पोद्दार पक्राउ परेपछि वडा अध्यक्ष अर्याल फरार भएको प्रहरीले जनाएको छ । पछिल्लो पटक एकसाता अघि जिल्ला प्रशासन कार्यालय मोरङले वडा कार्यालयको सिफारिसप्रति आशंका गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाउन खोजेको अभियोगमा पौद्दार पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, साँची बस्ने वडा सदस्य रमेश साह फरार भएको प्रहरीले जनाएको छ ।
वडा सचिव पुष्पा तिम्सिना पनि सम्पर्क बिहिन हुनु भएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी निशान थापाले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो । उहाँले किर्ते कागज बनाउने पोद्दारलाई पक्राउ गरेको बताउदै अन्य फरार रहेको जानकारी दिनु भयो । भोली अदालतमा मुद्दा बुझाउने तयारी भएको थापाले बताउनु भयो । किर्ते गरी २०६५ साल यता पोद्दार सहितको समुहले ७ जना गैर नेपालीलाई नागरिकता दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
वडा अध्यक्ष अर्यालले मात्र २ जनालाई नागरिकता बनाउन सिफारिस गर्नु भएको अनुसन्धानका क्रममा खुलेको छ । दुबै सिफारिसमा पोद्दारले बुबा बनेर कागज तयार पारेको बताइएको छ । तर प्रहरीले कसैको नाम सार्बजनिक गरेको छैन् । ‘भोली मुद्दा अदालतमा बुझाउछौ,’ डिएसपी थापाले भन्नु भयो ‘अहिले नाम खोल्न मिल्दैन् ।’ अर्याल विराटनगर महानगर कार्यपालिकाका प्रवक्ता पनि हुनु हुन्थ्यो ।