Breaking News

थुनुवा भाग्नुमा प्रहरी लापर्वाही

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १८:४५

विराटनगर, १५ कात्तिक । ड्युटीमा रहेका प्रहरीको चारम लापर्वाहीका कारण विराटनगर स्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट हत्यामा संलग्न दुई थुनुवा भागेको निस्कर्ष निकालिएको छ ।

हिरासतको भेन्टिलेसनमा लगाइएका छ वटा रड काटेर थुनुवा फरार हुँदा सम्म पनि ड्युटीमा रहेका प्रहरीले चाल नपाउनु चरम लापर्वाही भएको निस्कर्ष छानविन समितिको छ । विराटनगर महानगरपालिका १७ का १९ वर्षीय मोहम्मद अस्फाकको अपहरणपछि हत्या गरेको घटनामा संलग्न विराटनगर १७ का २० वर्षीय मोहम्मद आरिफ आलम र मोहम्मद सदिम हुसेन रानी प्रहरीको हिरासतबाट गत बिहीबार राति फरार भएका थिए । दुबै जनामाथि प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्धा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । अस्फाकको शव असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो ।

घटनाको छानविन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी निशान थापा र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी किशोर दाहालको नेत्रृत्वमा समिति गठन गरेको थियो । दुबै छानविन समितिले ड्युटीमा रहेका प्रहरीको हेलचेक्राईका कारण थुनुवा भागेको निस्कर्ष निकालेका छन् ।

शुक्रबार छानविन प्रतिवेदन तयार पारेर बुझाउने तयारी समितिको छ । ‘२४ घण्टा नै हिरासत प्रहरीको सुरक्षामा हुन्छ,’ छानविन समितिका एक सदस्यले भने, ‘हतियार सहितका प्रहरीले लापरवाही नगरेको भए कसरी थुनुवा भाग्न सक्थे ?’ ती सदस्यका अनुसार हिरासत कक्षको भेन्टिलेसनमा राखिएका आठ मध्ये छ वटा रड काटेर थुनुवा फरार भएका हुन् । छानविन समितिले फलाम काट्नका लागि प्रयोग गरिने ह्याक्सो ब्लेडको प्रयोग गरेर रड काटिएको निस्कर्ष निकालेको छ । ब्लेटका तीनवटा टुक्रा प्रहरी कार्यालय परिषरमै फेला परेको थियो । काटिएका रड भने प्रहरी कार्यालयको उत्तरपट्टी रहेको खाली जग्गामा भेटिएका थिए । यस घटनामा प्रहरीको मिलेमतो भने नदेखिएको समितिको निस्कर्ष छ ।

समितिले इप्रका रानीमा पुगेर घटनास्थलको मुचुल्का उठाउने, त्यहाँका प्रहरी अधिकारीसंग वयान लिने, छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएका सात जना प्रहरीसंग सोधपुछ गर्ने लगायतका काम सकेको छ । भागेका थुनुवा भने अझै फेला पर्न सकेका छैनन् । प्रहरीले दुबै जना भारतमा गएर लुकेर बसेको हुन सक्ने आशंका गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले फरार भएका थुनुवाको खोजीलाई भने व्यापक पारिएको बताउनु भयो । यता हत्या गरिएका अस्फाकका आफन्तले भने आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्न हिरासतबाट भाग्नु र अहिले सम्म फेला नपर्नुमा प्रहरीलाई दोषी देखाएका छन् ।

मृतकका बुबा महम्मद खलिल मियाँले प्रहरीले फरार भएका दोषीको खोजी गर्न चासो नदिएको र उल्टै आफूहरुलाई अनआवश्यक दवाव दिइरहेको आरोप लगाउनु भयो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३