Breaking News

सरकारको लोकप्रियता घटेको छैन : मन्त्री यादव

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १८:४२

विराटनगर १४ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारको लोकप्रियता नघटेको दाबी गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले लोकप्रियता गुमाउने गरी कुनै काम नगरेको दाबी गर्नुभएको हो ।

चिनीको मूल्य निर्धारणपछि पनि उपभोक्ताले सहुलियत मूल्यमा चिनी उपभोग गर्न नपाएको गुनासो आए पनि बजारमा ७० रुर्पयाँभन्दा बढीमा चिनी बिक्री नभएको दाबी थियो । निर्धारित मूल्यभन्दा बढीमा चिनी बिक्री गरे कानुनी कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो । बजारमा हल्ला भएजस्तो उपभोक्ताले महँगोमा चिनी उपभोग गर्न बाध्य बनाएको भन्ने कुरा तथ्यहीन भएको उहाँले दाबी गर्नुभयो ।

यसैवीच मन्त्री यादवले विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपि)को स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । भारतीय पक्षलाई पूर्व जानकारी विना मन्त्री निरीक्षण र ब्रिफिङका लागि भन्दै निर्माणाधीन आइसिपीको भारततर्फ प्रवेश गर्नुभएको थियो ।

मन्त्रीसँगै काठमाडौंबाट विराटनगर आउनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र यामकुमारी खतिवडा तथा मोरङका स्थानीय सुरक्षा अधिकारीलाई नेपालतर्फ छाडेर मन्त्री भारतीय आइसीपीको निरीक्षणमा जानुभएको थियो ।

मन्त्री यादव झण्डा हल्लाउँदै भारतीय आइसीपीको निरीक्षणमा गएपछि नेपालतर्फ नै बसेका मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रहरी प्रमुख मनोज केसीलगायतका अन्य सरकारी कर्मचारीहरु, सचिवहरु असमन्जसमा देखिन्थे ।

आइसिपी सुरक्षार्थ तैनाथ भारतीय प्रहरीले सुरुमा मन्त्रीको सवारी साधन प्रवेशका लागि कागजपत्र मागेका थिए । त्यसक्रममा केही विवाद सिर्जना भएपछि आइसिपीका व्यवस्थापक आरके रमणले मन्त्रीलाई भित्र लगेका थिए । क्यामेरामा बोल्न नमाने पनि मन्त्री यादवले भने नेपाल सरकारको अनुमति लिएर नै भारतीय आइसीपीको निरीक्षण गरेको दाबी गर्नुभयो ।

भारततर्फ निर्माणाधीन आइसिपीको अवलोकन तथा निरीक्षणपछि आफूले आइसिपी निर्माणका विषयमा भारतिय अधिकारीहरुसँग ब्रिफिङ लिएको जानकारी दिनुभयो । भारतीय सहयोगमा निर्माणाधीन विराटनगर आइसिपी अबको केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३