Breaking News

रानी प्रहरीको हिरासतको रड काटेर दुई थुनुवा फरार

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १५:५७

विराटनगर, ९ कात्तिक । ड्युटीमा रहेका प्रहरीको लापरवाहीका कारण विराटनगर स्थित इलाका प्रहरी कार्यालय रानीबाट गएराति दुई थुनुवा फरार भएका छन् ।

कर्तव्य ज्यान तथा अपहरण मुद्धा चलाउनका लागि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेका दुई थुनुवा फरार भएका हुन् । थुनेर राखेको हिरासत कक्षको ६ वटा रड काटेर थुनुवा फरार भए पनि ड्युटीमा रहेका प्रहरीले कुनै सुइँको पाएनन् ।

फरार हुने थुनुवामा विराटनगर महानगरपालिका १७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन रहेका छन् । आफ्नै साथीको अपहरणपछि हत्या गरेको अभियोगमा तीन साता अघि पक्राउ गरेर प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको थियो ।

विराटनगर १७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेर फ्यालेको अवस्थामा शव गत असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो । घटनाको अनुसन्धान जारी रहेका बेला दुबै अभियुक्त भने २४ घण्टा नै प्रहरीको ड्युटी रहने हिरासतबाटै फरार भएका हुन् । उनीहरुले कुन औजार प्रयोग गरेर हिरासतमा रहेको भेन्टिलेसनको रड काटे भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनास्थलबाट रड काट्नका लागि प्रयोग गरिएको कुनै औजार र काटिएका रडका टुक्रा पनि फेला पर्न सकेको छैन । फलामको रड काटेर थुनुवा भाग्दा सम्म पनि हिरासत सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुलाई लापरवाहीका रुपमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

घटना भएका बेला इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोश निरौला विदामा हुनु हुन्थ्यो । हिरासतबाटै थुनुवा भागेपछि निरौला कार्यालय फर्किएर फरार भएकाको खोजीमा जुट्नु भएको छ । एसपी केसीले हिरासतको रड काटेर थुनुवा फरार भएको घटनामा प्रहरीकै मिलेमतो पनि आशंका गरिएको बताउनु भयो ।

उहाँले ड्युटीका क्रममा लापरवाही गर्ने सात जना प्रहरीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो । अनुसन्धानका लागि ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्के समेतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ ।

प्रहरीले हिरासतबाट भागेका थुनुवाको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३