प्रकाशित : २९ आश्विन २०७५, सोमबार १८:३७

विराटनगर, २९ असोज । केन्द्रबाट पार्टी एकताको टुंगो लाग्न ढिलाई भइरहँदा मोरङमा गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले स्थानीय तहसम्म पार्टी एकताको तयारी थालेको छ ।

कार्यदलको विराटनगरमा बसेको बैठकले एकताको प्रक्रिया अगाडि बढाउन विभिन्न कार्यदलहरुसमेत गठन गरेको पार्टीका प्रस्तावित जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । पार्टीका प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश अध्यक्ष देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकले पार्टीको स्थानीय तहको एकताका लागि दुवै पार्टीका इन्चार्ज, अध्यक्ष र सचिव रहेको कार्यदल गठन गरेको छ । कार्यदलले स्थानीय कमिटिको एकताको लागि सुझावसहितको प्रतिवेदन जिल्ला कार्यदलमा पठाउने अख्तियारी पाएको छ ।

स्थानीय कमिटिको नेतृत्व भने स्थानीय कार्यदल र जिल्ला कार्यदलको बैठकबाट टुंगो लगाउने निर्णय गरिएको छ । यसैगरी स्थानीय कार्यदललाई पार्टी सदस्य संख्या, लेबि र सम्पत्ती विवरणसहितको प्रतिवेदन बुझाउन समेत बैठकले निर्देशन दिएको छ । नेता पोखरेलका अनुसार जिल्ला तहमा समेत पार्टी एकताको लागि विभिन्न समितिहरु गठन गरिएको छ । सदस्यताको रेकर्ड व्यवस्थित गर्न रामलाल साह, महेश भट्टराई, हेम कार्की, भोगेन्द्र यादव र दुवै पार्टीका कार्यालय सचिव रहेको समिति गठन भएको छ ।

त्यसैगरी पार्टीको सम्पत्ती विवरणको रेकर्ड तयार गर्न लोचन धमला र नरेन्द्र बराललाई जिम्मा दिइएको छ भने आय व्ययको प्रतिवेदन तयार गर्न विनोद ढकाल, गोपी आछामि, नरेन्द्र बराल र मुक्ति बराल रहेको समिति गठन गरिएको छ । यसैगरी बैठकले कात्तिक १९ गते विभिन्न चाडपर्वहकरुको सन्दर्भमा चिया पान र शुभकामना आदनप्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले स्थानीय तहको कामलाई व्यवस्थित गर्न छठ पछि जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका मन्त्री, संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागीतामा दुई दिने कार्यशाला संचालन गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला पार्टीको कामलाई व्यवस्थित गर्न शिवकुमार मण्डल, विनोद ढकाल, महेश रेग्मी, गोपी आछामि, कूलप्रसाद साम्बा, ऋषिकेश पोखरेल, रामलाल साह र गणेश उप्रेती रहेको कार्यदल यसअघि नै गठन गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३