Breaking News

स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्यो

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १७:५९

विराटनगर, २२ असोज । मौसम परिवर्तन सुरु हुँदै गर्दा मोरङका सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेर गएको छ । स्वास्थ्य परीक्षण र उपचारका लागि आउने मौसमी बिरामीको संख्या ह्वात्तै बढेको हो । केही दिन यता बिरामीको चाप धान्न कठिन भइरहेको स्वास्थ्य संस्थाले जनाएका छन् ।

स्वास्थ्य संस्थामा भाइरल फिवर, दम, रुघाखोकी, निमोनिया, ज्वरो लगायतका बिरामीको संख्या बढेको हो । चिकित्सकले मौसम परिवर्तन हुन खोज्दै गर्दा स्वास्थ्य संस्था मौसमी बिरामीले भरिभराउ हुन थालेको जानकारी दिएका छन् ।

विराटनगरका नोवेल मेडिकल कलेज, कोसी अञ्चल अस्पताल, विराट नर्सिङ होम, लाईफ गार्ड, गोल्डेन, न्युरो लगायतका अस्पतालमा बिरामीको चाप अत्यधिक छ । कोसी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले नियमित उपचार र स्वास्थ्य परीक्षणमा आउने मौसमी बिरामीको संख्या बढेको बताउनु भयो । पहाडी जिल्ला र साना स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रेफर गरिएका बिरामी समेत उपचारका लागि थपिने गर्दा ठूला स्वास्थ्य संस्थाहरुमा चाप बढी देखिएको उहाँको भनाइ छ । पोखरेलका अनुसार कोसी अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि यस अघि एक हजारको हाराहारीमा बिरामी आउने गरेका थिए । अहिले दैनिक आउने बिरामीको संख्या बढेर एक हजार पाँच सय बढी पुगेको छ ।

नोवेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार बिरामी मध्ये सबै भन्दा बढी संख्या बालबालिका र बृद्धबृद्धाको रहेको छ । बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालले अहिले दुबै खाले मौसमको समिश्रण भएको अवस्थामा बालबालिकामा छालाको एलर्जी, निमोनिया र रुघाखोकीको समस्या बढी देखिएको जानकारी दिनु भयो ।

बालबालिकालाई उपयुक्त वातावरणमा उचित रेखदेख र स्याहारसुसार गर्न सके मात्रै रोगबाट बचाउन सकिने बताउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३