प्रकाशित : २१ आश्विन २०७५, आईतवार १०:५२

विराटनगर, २१ असोज । भारतको बथनाहाबाट मोरङको विराटनगर स्थित बुधनगर सम्म निर्माणाधिन रेलमार्गको नेपाल र भारतका अधिकारीले आज अनुगमन गरेका छन् ।

बथनाहाबाट विराटनगर १८ बुधनगर भन्सार यार्ड सम्म निर्माणाधिन रेलमार्ग निर्माणको प्रगतिका बारेमा जानकारी लिंदै अधिकारीहरुले अनुगमन गरेका हुन् । रेल विभागका प्रमुख बलराम मिश्रसहितको टोलीले उक्त रेलमार्गबारे भारतीय ठेकेदार कम्पनीसँग जानकारी लिएको छ । अनुगमन टोलीमा नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयका अधिकारी थिए ।

अनुगमनसंगै विराटनगरमा भारतको बथनाहाबाट रेल आउने समय नजिकिंदै गएको संकेत मिलेको छ । एक महिना भित्रमा बथनाहा–विराटनगर रेलमार्गले जोडिने निश्चित भएको हो । यस विषयमा दुबै देशका अधिकारीले छलफल पनि गरेका छन् ।

रेल संचालन र त्यसको तयारीका बारेमा छलफल गर्दै नेपाल र भारतका अधिकारीले एक महिना भित्रमा बथानाहाबाट बुधनगर सम्म रेल संचालन हुने जानकारी दिए । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधार निर्माण गर्दै मोरङको कटहरी गाउँपालिका सम्म ब्रोडगेज रेलमार्ग निर्माण गर्नका लागि द्धिपक्षिय सम्झौता भएको थियो ।

नेपाल सरकारसंग भएको सम्झौता अनुरुप भारतीय पक्षले धमाधम रेल–वे निर्माणको काम गरिरहेको छ । इरकोण इन्टरनेशनले पनि सम्भव भए अक्टुवरको अन्त्यमा र नभए नोभेम्वरको पहिलो साता सम्ममा बथनाहा–विराटनगर रेल संचालन हुने गरीको संरचना निर्माण अन्तिम चरणमा पुर्याइएको जनाएको छ ।

निर्माण कम्पनीका जेनेरल म्यानेजर प्रदिपकुमारले भारतको बथनाहादेखि बुधनगर भन्सार यार्ड पूर्व लाबाघाटसम्म ७ दशमलव ६ किलोमिटर क्षेत्रमा रेलको पटरी राखिसकिएको बताउनु भयो । उहाँले बुधनगर भन्सार यार्ड सम्ममा रेल ल्याउने लक्ष्यका साथ कामलाई द्रुत गतिमा अघि बढाइएको जानकारी दिनु भयो । उहाँ अनुसार सम्भव भए सम्म अक्टुवर ३१ तारेखका दिन रेलको परीक्षण गर्ने तयारीका साथ काम अघि बढाइएको छ ।

नभए पनि नोभेम्बर पहिलो साता भित्रमा ७ दशमलव ६ किलोमिटरमा रेल संचालनमा आउने उहाँले बताउनु भयो । प्रदिपकुमारले बुधनगर भन्सार यार्ड सम्म रेल संचालन गरिसकेपछि कटहरी गाउँपालिका स्थित विराटनगर–रंगेली सडक खण्ड सम्म रेलको पटरी राख्ने काम सुरु गरिने जानकारी दिनु भयो ।

नेपाल सरकारले जग्गा अधिग्रहणको प्रक्रिया सकेर रेलमार्ग निर्माणका लागि जति सक्दो चाँडो जग्गा उपलब्ध गराउन सके अवको एक वर्ष भित्रमा बथनाहा–कटहरी रेलमार्ग निर्माण सम्पन्न भएर रेल संचालनमा आउने उहाँको भनाइ छ । उहाँले नेपालतर्फको कटहरी क्षेत्रमा जग्गा विवादकै कारण काममा केही बाधा पुगिरहेको पनि बताए ।

जग्गाको मुआब्जा विवादले समस्या सिर्जना गरेको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३