Breaking News

विर्तामोडको विजयी सुरुवात

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १०:४८

विराटनगर, २० असोज । सिएमजी स्वास्थ्य क्लबको आयोजनामा शनिबारबाट विराटनगरमा सुरु भएको प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगितामा झापाको विर्तामोड भेट्रान क्लबले विजयी सुरुवात गरेको छ ।

उद्धघाटन खेलमा सुनसरीको इटहरी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै साविक उपविजेता विर्तामोड अन्तिम चारमा प्रवेष गरेको हो । खेलको म्यान अफ दी म्याच गोलरक्षक टंक धिमालको महत्वपूर्ण भूमिकाका कारण विर्तामोडले सेमिफाइनल यात्रा सुरक्षित गर्न सकेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय लिन टाईब्रेकर सम्म पुग्नु पर्यो ।

टाईब्रेकरमा तोयाराम भुजेल, देउमान लिम्बू र भुपेन लिम्बूको प्रहारले जाली चुम्दा विर्तामोडको भाग्य चम्कियो । नरेन्द्रमणि लिम्बू र सन्तोष राईको प्रहारलाई इटहरीका गोलरक्षक छनुराम चौधरीले रोकिदिए । मिलन देवान र शिव चौधरीको प्रहार मात्रै गोलमा परिणत हुँदा इटहरी पहिलो खेलबाटै बाहिरिन पुग्यो । विनय चौधरी र तीर्थ याक्सोको प्रहारलाई विर्तामोडका गोलरक्षक धिमालले बचाए । महेन्द्र विश्वासको प्रहार बाहिरिनु इटहरीको हारको मुख्य कारण बन्यो ।

५९ औं मिनेट सम्म २–१ गोल अन्तरले पछि परेको विर्तामोडले उत्कृष्ट पुनरावगमन गर्दै इटहरीलाई रोक्न सक्यो । २७ औं मिनेटमा नरेन्द्रमणि लिम्बूले गोलको खाता खोलेर आफ्नो टिमलाई अग्रता दिलाएका दिए । डिबक्ल भित्र प्राप्त बललाई सिधा प्रहार गर्दै उनले पोष्टको दिशा दिंदा इटहरीका गोलरक्षक चौधरीले कुनै मौका पाएनन् । विर्तामोडको त्यो खुसी १० मिनेट सम्म पनि टिकेन ।

३७ औं मिनेटमा मिलन देवानको गोलमार्फत इटहरी खेलमा फर्कियो । तीर्थ याक्सोको क्रस पासमा विर्तामोडका गोलरक्षक धिमाल अगाडि बढेको मौका छोपेका देवानले बललाई भली गर्दै पोष्टको बाटो दिंदा खेल १–१ को अवस्था पुग्यो । ५० औं मिनेटमा देवानले अर्को गोल थप्दै खेललाई २–१ को अवस्थामा पुर्याउँदा विर्तामोड दवावमा पर्यो । एक्लै अघि बढेका उनले विपक्षी गोलरक्षकलाई विट गर्दै बललाई पोष्टको दर्शन गराइदिएका थिए ।

५९ औं मिनेट सम्म २–१ गोल अन्तरले अघि रहेको इटहरी सम्हालिन नसक्दाको फाइदा विर्तामोडले लियो । इटहरीका विनय चौधरीले डिबक्स भित्र विर्तामोडका देउमान लिम्बूलाई गलत ट्याकल गरेपछि रेफ्री मदन काफ्ले विर्तामोडलाई पेनाल्टीको अवसर दिन चुकेनन् । पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै विर्तामोडका भुपेन लिम्बूले गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल टाईब्रेकरमा पुगेको हो । खेल भरी इटहरी विरुद्ध विर्तामोड हावी बन्यो । खेललाई पूरै नियन्त्रणमा लिएको विर्तामोडको फिनिसिङले भने पोष्टको दिशा लिन नसक्दा खेल टाईब्रेकर सम्म पुगेको हो । २३ औं मिनेटमा देउमान लिम्बूको प्रहारमा इटहरीका गोलरक्षक बाधक बनिदिंदा विर्तामोडले सुरुवाती अग्रता लिन सकेन । ३० औं मिनेटमा सुवास शुब्बाको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४३ औं मिनेटमा देउमान लिम्बूको प्रहार पोष्टमाथिबाट बाहिरियो । ५७ औं मिनेटमा टेकबहादुर लिम्बूको प्रहारमा इटहरीका गोलरक्षक बाधक बन्दा विर्तामोडले निर्धारित समयमा खेलको नतिजा निकाल्न सकेन ।

४२ औं मिनेटमा इटहरीका मिलन देवान ढिलो भए । ५८ औं मिनेटमा देवान खाली पोष्टमा गोल गर्नबाट चुक्दा इटहरी अभागी ठहरियो । आइतबार हाटखोला भेट्रान क्लब विराटनगर र पूर्वाञ्चल भेट्रान क्लब दमकबीच प्रतिष्पर्धा हुने आयोजक सिएमजी स्वास्थ्य क्लबका अध्यक्ष किशोर धमलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३