Breaking News

राजनीतिमा नमिताको संघर्ष

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १२:२६

दीपक निरौला
हाम्रो नेपाली समाजमा दोश्रो दर्जाको व्यवहार भयो भने सौतेनी माम्लो भनिन्छ । मलाई सौताको सन्तान जस्तो व्यवहार भयो भनेर चित्त दुःखाउने परिपाटी छ । तर, सबै सौता र सौताका सन्तान बीच दुरी वढ्ने मात्र नभएर सौहार्दपूर्ण व्यवहारका कयौं उदाहरणहरु छन् । त्यस्ता सुखद समाचार सार्वजनिक हँुदा धेरैले बनावटी कुरा भनेर पत्याउदैनन् । त्यस्ता उदाहरणीय व्यक्तिहरु एउटै भाँडोको भात खाएर स्वर्गको बाटो लागिसके । भने ,केही अहिले पनि यही समाजमा रहेका छन् । उठान गर्न खोजिएको कुरा एकिकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेतृ नमिता न्यौपानेको बारेमा ।
मोरङको उत्तरी ग्रामिण क्षेत्र केराबारीमा २०३८ सालमा निम्न वर्गीय परिवारमा जन्मिएकी हुन् नमिता । सामान्य खेतिपातिबाट गुजारा टार्ने उनको परिवार भने जम्बो थियो । दुःखै भएपनि उनका बुबाले दुई गुँडको जोहो गरेछन् । दुबै गँुडका गरी नौ सन्तान मध्ये कनिष्ठ सन्तानका रूपमा रहिन नमिता । सन्तान धेरै भएका कारण मौसमी खेतिपाती गर्न न्यौपाने बाको घरमा खेतालाको आवश्यकता नै पर्दैनथ्यो ।

आमाको कोख अलग भएपनि पिता र घर एउटै थियो । दुई गुँडका बग्रेल्ती सन्तान भएपनि एक अर्कामा आदर र स्नेहको दाम्लोमा सबैलाई बाँधिएको थियो । आजसम्म पनि पिताले बाँधेको आदर र स्नेहको दाम्लो कसैले बल गरेर चुडाएका छैनन् नमिताको परिवारमा । एउटै छानोमुनी बसेर सबै आ–आफ्नो कर्ममा तल्लिन रहे । अथक मेहनत र परिश्रमले नमिताका दाजुदिदीहरु हुनेखाने वर्गको सिंढी चढ्न सफल भएका छन् ।
ठूलो परिवारकी कनिष्ठ सदस्य नमिता अहिले पनि सानो गाँठीकी तर तिक्ष्ण बुद्घि भएकी महिला नेतृ हुन् । उनको स्कूले जीवन कष्टकर नै रह्यो । ‘१० कक्षा पढुञ्जेल सग्लो कापीमा लेख्ने अवसर नै मिलेन ।’ उनले भावुक हँुदै विगतका कुराहरु बेलीबिस्तार लगाइन् । दाजु दिदीले लेखेर छाडेका थोत्रा कपी जम्मा गर्थिन अनि तिनै उनका लागी नयाँ कापी बन्थे । कहिले काँही स्कूल जाने बखतमा दाजुदिदीका सकिएका कापी खोजेर हतारहतार धुयो अनि टाउकोमा सुकाउँदै स्कूल कुध्यो । उनको स्कूले दिनचर्या यसरी नै बित्थ्यो । बीच बाटोमा खोला तरेर स्कूल जाँदा टाउकोमा सुकाउँदै गरेका काँपी त्यही खस्थे । अभावको आहालले उनलाई डुवाउन खोजेको कुरा गुरुहरुले सहजै बुझ्दथे । र, उनको शैक्षिक स्तर खस्किन नदिन धेरै सहयोग गर्दथे । कष्टपूर्ण तरिकाले गरिबीको जाँतामो पिसिएपनि उनको शैक्षिक स्तर भने अब्बल थियो ।
२०५२ सालमा पिताको देहान्तले नमिताको परिवारमा ठूलो विचलन ल्यायो । जसबाट परिवारमा अर्थोभावले गाँजिनै रह्यो । दुःख भन्ने कुरा अनन्तकालसम्मको लागि स्थायी नभएकाले केही समयपछि विस्तारै परिस्थिति सहज बन्दै जान थाल्यो । अफ्ठेरो समयभरी नहडबडाई टिक्न सकियो भने परिस्थिति सहज भएर आउँछ । यहि कुरालाई मनन् गर्दै संघर्षशील समयसँग नमिताको परिवारले मुकाविला गरिनै रह्यो ।
स्कूलमा आफूभन्दा एक तह मुनिका बालसाथिहरुलाई ट्युसन पढाएर आफू सित्तैमा गुरुहरुसँग ट्यूसन पढ्थिन् । २०५५ सालमा मोरङको केराबारी स्थित मच्छिन्द्र मा.वि बाट नमिताले एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरिन् । पढाई राम्रो भएको र धेरै समय किताबमा घोत्लिनु नपर्ने भएकाले विद्यार्थीकालमै नमितालाई राजनैतिक लत बसिसकेको थियो । नमिताको भाग्यमा राजनीतिनै गर्नुपर्छ भनेर लेखिएको थियोहोला सायद । किनभने उनको सोचाई र गराई ठ्याक्कै मिल्न गएको छ ।
उनका मामा तत्कालिन नेकपा एमालेको सक्रिय कार्यकर्ता भएकाले उनैको सिको गर्दै राजनीतिक रसले मोहित बन्न पुगिन । २०५१÷०५२ सालमा ७ कक्षा तिर अध्ययन गर्दा उत्तरी मोरङलाई समेत समेटेर अनेरास्ववियू प्रारम्भिक कमिटी गठन भयो । त्यसमा उनी पनि छानिइन् । २०५४ सालमा जिल्ला कमिटी मोरङको सदस्यमा निर्वाचित भइन् । अध्ययनका साथै राजनीतिलाई पनि निरन्तरता दिइनै रहिन् । त्यसपछि एमालेको तर्फबाट अनेरास्ववियू महिला तर्फ कोशी अञ्चल प्रमुख १ कार्यकाल , त्यसपछि केन्द्रीय सदस्य २ पटक सम्म रहिन् । यसका साथै विभिन्न जिल्लामा सक्रिय रहेर काम गरिन् ।
२०६२/०६३ को जनआन्दोलनका क्रममा उनी जेल समेत परिन् । करिब २०÷२२ दिनको जेल बसाईका दौरान माओवादी कार्यकर्तासंग उनको सम्पर्क भयो । उनिहरुको विचार अनि यता एमाले पार्टीमा भएको गुटबन्दीले उनमा निराशा पैदा भएको थियो । जसका कारण २०६३ सालमा माओवादीमा प्रवेश गरिन् । त्यसपछि अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय कमिटी सचिवालय सदस्यमा ५ वर्ष काम गरिन् ।
एउटा महिला जो स्कूले जीवनमा राजनीतिकर्मी बन्छु भन्ने सोच राखेर अघि बढिन् । उनको जुन सोच थियो, वास्तवमा त्यसले सार्थकता पाएको छ । एउटी छोरीबाट आमाको भूमिका निर्वाह गरिरहेकी नमितालाई सफलताको शिखरमा लम्कन पर्दा पछाडी कसकसको हात छ त? भन्ने प्रश्नमा उनी आफ्ना आरोह अवरोहलाई यसरी बेलिबिस्तार लगाउँछिन् ।
तत्कालिन एमालेले मोरङ जिल्लामा विद्यार्थी संगठनको नेतृत्व गर्ने जिम्मा उनलाई सुम्पियो । त्यसपछि केराबारी बसाई पातलिन थाल्यो । विराटनगर बसाई बाक्लियो । राजनीतिक उचाई माथी पुगिसकेको थियो । धेरै व्यक्तिका बीच परीचित बन्दै गइन् ।साथीसंगी धेरै भएपनि उनको मनमा एक्लोपनको आभाष वढ्दै गयो । प्रखरवक्ता नमिताको जवानी थुँगेफूल फक्रिएझैंफक्रिदा धेरै भमरा नजिक आउन थाले । यसै क्रममा खोटाङको विकट गाउँखार्पामा जन्मिएका घनश्याम पोख्रेल नमिताको जुवामा नारिन आइपुगे ।

राजनीतिलाई पेशामा बदल्न भरपुर सहयोग गर्ने वाचाका साथ २०६० सालमा विवाहको वरमाला घनश्यामलाई पहिर्याइन नमिताले ।
निम्न वर्गीय परिवारका चतुर घनश्याम राजनीतिमा लाग्दालाग्दै साइड विजनेशबाट आर्थिकस्तर मजबुत बनाउँदै गए । नमिताको राजनैतिक स्तर दिन दुईगुना, रात चौगुनाको दरले बढोत्तरी भै रहेको छ । उनका श्रीमानले घनश्यामले श्रीमतीलाई, छोराछोरीलाई बाबुआमाले गर्नुपर्ने जत्तिकै सकारात्मक व्यवहार दर्शाएका छन् । परिवारमा ७ बर्षीय एक छोरी मात्र छिन् । राजनीतिक तथा सामाजिक काममा व्यस्त रहेता पनि मातृवात्सल्यको अभावबाट छोरीलाई घनश्याम नमिताले बञ्चित गराएका छैनन् । उनीआफैं पनि व्यवसाय गरिरहेका छन् । यत्रो जोखिम मोलेर श्रीमतीलाई राजनीतिमा होम्दा पारिवारिक तथा सामाजिक आलोचनाको शिकार बनिएन ? भन्दा सानैदेखि समाजवादी शिक्षा ग्रहण गरेको हँुदा देशको कानून र नैतिकता पालन गरेपछि अन्य कुराले खासै प्रभाव नपार्ने उनको तर्क छ । तत्कालिन एमालेको राजनीतिमा सक्रिय घनश्याम श्रीमतीको पार्टी परित्याग पछि राजनीतिमा निष्क्रिय छन् । धेरै चुनौतीको सामना गरेर आफूलाई यो स्थानमा पुर्याउने पतिको त्यागलाई उनि सधै सम्मान गर्छिन् ।
राजनीतिमा नपढेका युवा हावीभए भन्ने कुरालाई चिर्न नमिताले शैक्षिकस्तर लाई बढोत्तरी गरिरहेकी छिन् । राजनीती शास्त्रमा मास्टर्स डिग्री, कानूनमा स्नातकसम्मको अध्ययन पुरा भएको छ । कर्मक्षेत्र राजनीती नै भएकोले प्रभावकारी बनाउन पीएचडी गर्ने सोचमा रहेको उनी बताउँछिन् । ताकी भोलिका दिनमा आउने जस्तोसुकै जिम्मेवारीलाई वहन गर्न असमर्थ नहोऔं ।
पार्टी एकीकरण पश्चात ठूलो पार्टीमा विलय भएर पूर्वावस्थाको स्थान नमिल्ला नि भन्ने प्रश्नमा उनी थप्छिन् ‘एशियाको दोश्रो ठूलो पार्टीको सदस्य बन्न पाउनु गौरवको विषय हो । व्यक्तिगत फाइदा भन्दापनि देशको समृद्घिको निमित्त हो ।’तल्लो तहमा एकताको विषयलाई लिएर नेतृत्वको ठूलो आलोचना भइरहेको छ । यदि सबैको चित्त बुझेन भने के हुन्छ ? भन्दा नमिता सबै साथीहरुको पार्टीमा सम्मानजनक स्थान हुनेमा आशावादी छिन् । राजनैतिक क्रान्ति सकिएको र आर्थिक युगको सुरुवाद भएकोले सबैको ध्यान केन्द्रित हुनुपर्नेमा नमिताको सोच छ । आर्थिक चरणको युगबाट भाग्ने व्यक्ति वा समूहको अस्तित्व लोप भएर जाने उनको ठम्याई छ ।
राजनीतिका साथसाथै विभिन्न सामाजिक संस्थामा सक्रिय उपस्थिति जनाउने नमिता घरेलु तथा साना उद्योग महासंघ १ नम्वर प्रदेशको अध्यक्ष, लायन्स क्लव विराटनगर सिटीको अध्यक्ष तथा विभिन्न धार्मिक तथा समाजिक संघसंस्थामा सक्रिय उपस्थिति जनाउने नमिता जस्ता नेतृको खाँचो छ । गतवर्षको स्थानीय निर्वाचनको समयमा विराटनगर महानगरपालिकामा सम्मानजनक रूपमा उपप्रमुख पदमा उपविजेता बनिन् । त्यसलाई उनले आफूलाई खारिएर निखरता ल्याउने अवसरको रुपमा लिएकी छिन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३