भारतीय सवारी साधनमा मरिच तस्करी
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १७:११

विराटनगर, १ असोज । मोरङका सीमावर्ती विभिन्न नाका हुँदै भारततर्फ हुने कालो मरिचको तस्करीमा भारतीय सवारी साधनको प्रयोग गर्ने क्रम बढेर गएको पाइएको छ ।
विशेष गरेर रातको समयमा भारतीय सवारी साधन प्रयोग गर्दै मरिच तस्करी हुने गरेको पाइएको हो । तेस्रो मुलुकबाट नेपालमा आयात हुने मरिच विभिन्न नाका हुँदै भारततर्फ तस्करी भइरहेको छ । दिउँसो मरिच कटाउँदा सुरक्षाकर्मीलाई छल्न नसक्ने भएपछि रातको समयमा तस्करी हुने गरेको निस्कर्ष सुरक्षा अधिकारीको छ ।
मसलाका रुपमा प्रयोग हुने मरिच भारत पुर्याउँदा एक किलोग्राममा चार सय रुपैयाँ सम्म फाइदा हुने भएका कारण मरिचको तस्करी बढेको प्रहरीको भनाइ छ ।
भारततर्फ लैजाँदै गरेको भेट्टाएर सशस्त्र प्रहरीको टोलीले मोरङको जहदा गाउँपालिका १ बाट गय राति एक सय किलोग्राम मरिच बरामद गरेको छ । दुईवटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा मरिच नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी वल नेपाल गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङका डीएसपी सुरेन्द्रराज रन्जितले बताउनु भयो ।
उहाँका अनुसार मरिच लग्दै गरेको बीआर ३९ बी २५२० र बीआर ३८ के ६६९६ नम्बरका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । डीएसपी रन्जितका अनुसार मरिच तस्करीमा संलग्नहरु सशस्त्र प्रहरीको टोली देख्ने वित्तिकै मोटरसाइकल छाडेर फरार भएका छन् ।
बरामद गरिएको मरिच र नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । तेस्रो मुलुकबाट ल्याएर मरिच तस्करी हुन थालेको पाइएपछि सीमावर्ती सबै नाकामा निगरानी बढाइएको उहाँको भनाइ छ ।
नेपालमा छ सय २५ रुपैयाँ सम्म पर्ने मरिच भारत पुर्याएपछि भने एक हजार २५ रुपैयाँ सम्ममा विक्री हुने गरेको व्यापारीहरुको भनाइ छ ।
नेपालमा भन्दा भारतमा महँगो हुने भएकाले सीमा क्षेत्रबाट भारततर्फ हुने मरिच तस्करी नरोकिएको भन्सार कार्यालयले जनाएको छ ।
प्रति किलो एक सय १३ रुपैयाँ राजश्व तिरेर भने मरिच बैधानिक रुपमा भारत लैजान पाइने विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुशील थापाले बताउनु भयो ।
प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१