प्रकाशित : १ आश्विन २०७५, सोमबार १४:२५

विराटनगर, १ असोज । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका निलम्बित डीएसपी प्रजित केसीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै केसीलाई साधरण तारेखमा छाड्न आईतबार आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशले थुनामा रहेका केसीलाई झुम्का कारागारमा राखिएको थियो । त्यही काण्डका अर्का अभियुक्त रामकुमार तिवारीलाई पाँच हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिंदा केसीलाई साधरण तारेखमा राख्न र तिवारीलाई धरौटी माग गरेर छाड्न उच्च अदालतबाट आदेश भएको रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधारण तारेखमा केसीलाई छाड्न आदेश भएको उनको भनाइ छ ।

केसी र तिवारीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर अनुसार उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

केसी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाडौंका डीएसपी थिए । यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो ।

महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले सुन तस्करी तथा सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

प्रतिवादी केसीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ता शंकरमान थापाले बहस गर्नु भयो । त्यस्तै तिवारीकोतर्फबाट अधिवक्ता भरत थापा र विकास थापाले बहस गर्नु भयो । बादी नेपाल सरकारकोतर्फबाट उपन्याधिवक्ता राजेन्द्र सिंह भण्डारी र सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गर्नु भएको थियो ।

गत शुक्रबार पनि उच्च अदालतले जिल्लाको अदालतको आदेशलाई उल्टाउँदै निलम्बित एसएसपी दिवेश लोहनीलाई साधरण तारेखमा छोड्न आदेश दिएको थियो ।

यस अघि अभियुक्तहरु निलम्बित डीएसपी सन्जयबहादुर राउत, तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालतले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको थियो । तीनै जना जिल्ला अदालतको आदेशपछि गत जेठ ८ गतेबाट थुनामा रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३