प्रकाशित : ३० भाद्र २०७५, शनिबार १७:०४


विराटनगर ३० भदौ । विराटनगर महानगरपालिकाभित्रका ७५ वटा सामुदायिक विद्यालयलाई फोहोर संकलनका लागि डस्टविन प्रदान गरिएको छ ।
आज विराटनगरमा आयोजित नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमको अवसरमा डस्टविन वितरण गरिएको हो ।
संस्कृत पाठशाला, मदर्शा तथा सामुदायिक विद्यालयलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रति विद्यालय २ थान डस्टविन प्रदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय र विराटनगर महानगरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा प्रमुख पराजुलीले सफा र सुन्दर विराटनगरको परिकल्पना आफ्नै कार्यकालमा पुरा गर्ने बताउनु भयो । उहाँले महानगरको सरसफाई अभियानमा सवैले सचेत बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश नं १ उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङगाना, नगर शिक्षा अधिकारी रुद्रप्रसाद दुलाल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्के, महानगरपालिका वातावरण शाखा प्रमुख अनिता कोइराला लगायतले बोल्नु भएको थियो ।