प्रकाशित : १७ भाद्र २०७५, आईतवार १४:०८


विराटनगर, १७ भदौ । अवैध सामान सहित पक्राउ परेका तीन जनालाई आज आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
विराटनगर महानगरपालिका १५ र १८ बाट प्रहरीले हिजो एक लाख ६२ हजार चार सय ७० रुपैयाँ बराबरको अवैध सामान सहित तीन जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले भारत अररिया बैजनाथपुर १ का १८ वर्षीय राहुल साह, ४५ वर्षीय मनोज साह र ५० वर्षीय मोहित लाल साहलाई पक्राउ गरेको हो ।
अवैध रुपमा भन्सार छली गरेर सामान तस्करी गर्दै गर्दा उनीहरु पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले भारतबाट ल्याउँदै गरेको लत्ताकपडा, खाद्यान्न र नेपालबाट भारततर्फ लगिंदै गरेको मरिच उनीहरुका साथबाट बरामद गरेको छ ।
बरामद गरिएको तस्करीको सामान सहित तीनै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।