Breaking News

विराटनगर महानगरपालिकामा बम विष्फोट गराउने तीन जना पक्राउ

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १२:१९

विराटनगर, १७ भदौ । विराटनगर महानगरपालिकामा २१ दिन अघि गराइएको बम विष्फोटमा जयकृष्ण गोइत नेत्रृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ ।

प्रहरीले बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेर आज विराटनगरमा सार्वजनिक गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले लामो समयको अनुसन्धानपछि ठूलै मेहनत गरेर विष्फोटमा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका २ हरिनगरका २० वर्षीय अभिमनु गिरी, सिरहाकै सुखीपुर गाउँपालिका ५ का २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउँपालिका २ क हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह रहेका छन् । महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको एसपी केसीले बताउनु भयो ।

उहाँका अनुसार महानगरपालिकामा विष्फोट गराउने योजना गत जेठ महिनामै भारतको दरभंगामा बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोइत समूहमा आवद्ध सिरहाको धनगडी नगरपालिका ३ का विक्की भनिने विरेन्द्रकुमार यादवको योजनामा बैठक बसेर विष्फोटको योजना बनाइएको एसपी केसीले बताउनु भयो । यादव योजना बनाउने तहमा देखिएपछि घटनामा उनको संलग्नता भने नपाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन जना सहित मोरङको जहदा गाउँपालिका २ का २५ वर्षीय राहुल यादव मिलेर चार जनाले घटना गराएको उहाँले बताउनु भयो । केसीका अनुसार पक्राउ परेका मनोजकुमारले चलाएको मोटरसाइकलको पछाडि बसेर अभिमनुले महानगरपालिका कार्यालय भित्र बम राखेको पुष्टि भएको छ ।

त्यसपछि पक्राउ परेका रामरिझनले रिमोटमार्फत नगरपालिका गेट नजिकै बसेर विष्फोट गराएको उहाँको भनाइ छ । महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै प्यासेजमा रहेको सोफा मुनी राखेर बम विष्फोट गराइएको थियो । विष्फोटबाट पराजुलीले चढ्दै आएको गाडीको सिसा फुटेको थियो । सोफा र प्यासेजमा रहेको दराज धुजाधुजा बनेको थियो ।

कार्यालयको झ्यालका सिसा पनि फुटेका थिए । घटनाको योजना बनाउने विरेन्द्रकुमार यादव र घटनामा संलग्न राहुल फरार रहेका कारण उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीन जना विरुद्ध भने विष्फोटक पदार्थ सम्बन्धी कसूरमा मुद्धा चलाउन अदालतबाट आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताउनु भयो ।

उहाँले गोइत समूहले आफ्नो अस्तीत्व देखाउन त्रास उत्पन्न गराउने हिसावले विष्फोट गराएको हुन सक्ने बताउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३