प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार १८:३६


विराटनगर, १५ भदौ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले समय अनुकुल ज्ञान र योग्यता हासिल गर्न मानिसले पुस्तकालयमा अध्ययन गर्ने बानी बसाल्नु पर्ने वताउनु भएको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ११ औं पुस्तकालय दिवस कार्यक्रमको उद्घाटन गर्दै उहांले सो कुरा वताउनु भएको हो । उहाँले पुस्तकको अध्ययनले मानिसको विचार निर्माण हुने भएपनि आज मानिस पत्रपत्रिका सामन्य सूचनामा मात्र निर्भर हुन थालेकाले विचार विहिन बन्दै गएको बताउनु भयो ।
मन्त्री घिमिरेले अध्ययनले नै विचार उत्पन्न हुने भएकोले अध्ययनका निम्ति सबै भन्दा राम्रो स्थान पुस्तकालय हो भन्दै पुस्तकालय पनि समय परिवर्तन संगसंगै आधुनिक प्रविधिमा जानु पर्ने कुरामा जोड दिनु भयो ।
महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह प्रध्यापक बाबुराम तिमसिनाले प्राज्ञिक क्षेत्रमा समेत पठन सस्कृति हराउँदै गएको चर्चा गर्दै यसले शिक्षाको गुणस्तर कमजोर बनाएको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका निमित सचिव उपेन्द्र दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा गुराँश पुस्तकालयका अध्यक्ष दिपक चापागांई, विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतम, नेपाल शिक्षक महासंघ प्रदेश नं.१ का अध्यक्ष भीमबहादुर बस्नेत र मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले बोल्नु भएको थियो ।
यसैवीच सामाजिक विकास मन्त्रालयले आज देखि पुस्तकालय सञ्चालनमा ल्याएको छ । पुस्तकालयको सामाजिक विकास मन्त्री घिमिरेले उद्घाटन गर्नुभयो ।