प्रकाशित : १३ भाद्र २०७५, बुधबार १९:१८

विराटनगर, १३ भदौ । मोरङमा डेढ महिनाको अवधिमा मात्रै १७ वटा बलात्कारका घटना भएका छन् । साउन यता भएका घटनामा बालिकादेखि बृद्धा सम्म गरेर २० जना पीडित बनेका छन् ।

बलात्कारको सिकार बन्नेमा सबैभन्दा बढी १६ वर्ष मुनिका बालिका रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बलात्कार पीडित २० जनामध्ये १२ जना १६ वर्ष मुनिका बालिका रहेको बताउनु भयो । बलात्कारका विभिन्न घटनामा संलग्न १८ जना मध्ये आज सम्ममा १४ जना पक्राउ परेका छन् ।

बलात्कारमा संलग्न चार जना फरार रहेको र उनीहरुको खाजी भइरहेको जानकारी थापाले दिनु भयो । मोरङ प्रहरीले पछिल्लो समय बालिका, युवती, महिला र वृद्धा आफन्त र चिनजानकाबाटै बलात्कृत हुने क्रम बढेर गएको जनाएको छ । अधिकांश घटनामा आफन्त, छिमेकी र चिनजानकै व्यक्तिहरुको संलग्नता रहने गरेको पाइएको डीएसपी थापाले बताउनु भयो ।

प्रहरीले बलात्कार घटनामा जवरजस्ती करणी मुद्दा चलाउने गरेको छ । बलात्कारमा संलग्न आफन्तलाई कारवाही हुने डर, यस्ता कुरा बाहिर ल्याउन नहुने सामाजिक मान्यता, इज्जत जाने डर एवं पीडत पक्षले दिने विभिन्न धाकधम्की आदी कारणले कतिपय बलात्कार पीडितहरु खुल्न समेत नचाहने गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

समाजमा विभिन्न प्रभाव, राजनैतिक दबाब र आर्थिक प्रलोभनमा परेर पीडितका परिवारका सदस्य र आफन्त यस्ता घटना मिलाउनतर्फ केन्द्रीत हुने गरेको उहाँको भनाइ छ ।

एसपी केसीले बलात्कार विरुद्ध प्रहरीले अभियान चलाउने तयारी गरिरहेको बताउनु भयो । उहाँले नावालिका, किशोरी र महिला विरुद्ध हुने यौन हिंसाका विरुद्ध प्रहरी र समुदायको सहकार्यमा अभियान चलाइने जानकारी दिनु भयो ।

बलात्कारका पीडकलाई उन्मुक्ती दिन नहुने र कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्नु पर्ने सन्देश अभियानमार्फत समुदाय सम्म पुर्याइने उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३