Breaking News

प्रदेशसभा बाहिर धर्ना दिन रोक (फोटो फिचर सहित)

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १८:०५

विराटनगर, ११ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्च नेपाललाई विराटनगर स्थित प्रदेश १ को प्रदेशसभा भवन बाहिर धर्ना दिन प्रहरीले आज रोक लगाएको छ ।

पूर्वघोषित लिम्बूवानको प्रदर्शन र धर्नालाई दृष्टिगत गर्दै प्रदेशसभा वरपरको सुरक्षा अवस्था पनि कडा पारिएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्च नेपालले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गर्ने र प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सार्वजनिक गरेपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले प्रदेशसभा वरपरको स्थितीलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर धर्ना दिन रोक लगाइएको बताउनु भयो । उहाँले प्रदेशसभा भवनबाट पूर्वतर्फ देवकोटा चोक र पश्चिमतर्फ अस्पताल चोक सम्मको लगभग तीन सय मिटर क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको बताउनु भयो ।

धर्ना दिनका लागि झापा, मोरङ र सुनसरीबाट विराटनगर आएका लिम्बूवानी नेता कार्यकर्ताले प्रदर्शन समेत गरेका छन् । नारा जुलुस गर्दै प्रदेशसभातर्फ अघि बढेका लिम्बूवानका नेता कार्यकर्तालाई प्रहरीले विराटनगरको अस्पताल चौकबाट अघि बढ्न दिएन । प्रहरीले अघि बढ्न नदिएपछि उनीहरुले प्रदेशसभाबाट लगभग दुई सय मिटर पश्चिममै रहेको अस्पताल चोकमै धर्ना दिएका थिए । सडकमा धर्ना दिइरहँदा प्रदेशसभा बैठक भने जारी रहेको थियो ।

डीआईजी रिजालले पूर्वघोषित कार्यक्रम रहेको र त्यही हिसावको सुरक्षा व्यवस्था मिलाइएका कारण कुनै पनि घटना नभएको बताउनु भयो । धर्ना दिने लिम्बूवानको पूर्वघोषित कार्यक्रम र प्रदेशसभा बाहिर धर्ना दिन रोक लगाउने सुरक्षाकर्मीको योजनाका कारण कुनै घटना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै एम्बुलेन्स र दमकल पनि तयारी अवस्थामा राखिएको थियो ।

  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नाम लिम्बूवान, किराँत र खम्बुवान हुनु पर्ने मुख्य माग राखेर आन्दोलनलाई जारी राखिएको बताउनु भयो । आफूहरुको मागलाई सम्बोधन गर्न दवाव दिने उदेश्यले प्रदेशसभा बैठक बस्ने दिन नै प्रदेशसभा बाहिर धर्ना कार्यक्रम राखिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३