Breaking News

आलु र गोलभेंडामा पनि विदेशकै भर

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १८:३८

विराटनगर, ६ भदौ । विराटनगरको जोगवनी नाका हुँदै एक वर्षमा झन्डै ३७ करोड रुपैयाँ बराबरको आलु र गोलभेंडा नेपालतर्फ आयात भएको छ । यस मध्ये आर्थिक वर्ष २०७४/०७५ मा धेरै मूल्य बराबरको आलु आयात भएको हो ।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुशील थापाका अनुसार आलु र गोलभेंडा गरेर ३६ करोड ९२ लाख रुपैयाँको आयात भएको छ । ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपैयाँ बराबरको गोलभेंडा आयात भएको जानकारी उहाँले दिनु भयो । व्यापारीहरुका अनुसार जोगवनी नाका हुँदै नेपाल आउने आलु र गोलभेंडा पूर्वी तराई र पहाडका जिल्लामा खपत हुने गरेको छ ।

विराटनगरका आलु व्यवसायी पशुपति भगतका अनुसार प्राय तराईका जिल्लामा दैनिक रुपमा लाग्ने हटियामा भारतबाट आउने आलुको विक्री बढी हुने गरेको छ । उहाँले नेपालमा उत्पादित आलु स्वादिलो हुने भए पनि भारतीय बाटो हुँदै आउने आलु सस्तो पर्ने भएका कारण धेरै उपभोक्ताको पहिलो रोजाइमा विदेशी आलु पर्ने गरेको जानकारी दिनु भयो ।

अर्का व्यवसायी सुरज गुप्ताका अनुसार बजारको ७० प्रतिशत हिस्सा भारत लगायत विदेशबाट पैठारी हुने आलुले धानिरहेको छ । उहाँले नेपालमा उत्पादन भएको आलुले ३० प्रतिशत मात्रै माग धानेको बताउनु भयो । विराटनगर भन्सार कार्यालयका अनुसार तरकारीको रुपमा प्रयोग हुने आलु भारत बाहेक भुटान र बंगलादेशबाट पनि आउने गरेको छ ।

नेपालमा मकवानपुर र पूर्वी पहाडी जिल्लामा उत्पादन हुने आलु निक्कै स्वादिलो मानिन्छ । तर मकवानपुर र पहाडी जिल्लामा उत्पादन हुने आलु भदौ सम्ममै सकिने भएका कारण भारतीय आलुको भर पर्नुको विकल्प नभएको व्यावसायी भगतको भनाइ छ ।

प्रदेश १ का १४ र प्रदेश २ का सप्तरी र सिरहा गरेर १६ जिल्लामा वर्षमा ७० हजार पाँच सय २८ हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुने गरेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३