प्रकाशित : १ भाद्र २०७५, शुक्रबार ०७:४९


विराटनगर, १ भदौ । लामो समय देखि विद्युत महशुल नतिरी कालो सूचीमा परेका ग्राहक बिरुद्ध विद्युत प्राधिकरण विराटनगर वितरण शाखाले मुद्धा दायर गर्ने तयारी गरिरहेको छ ।
कालो सूचीमा पर्ने व्यक्ति भए सम्बन्धित व्यक्ति, कुनै कम्पनी, उद्योग प्रतिष्ठान वा संस्था भए त्यसको सञ्चालकको पहिचान गरी उसको विरुद्ध अदालतमा मुद्धा दायर गर्न सकिने शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो । “अहिले हामी लामो समय देखि महशुल नतिरी कालो सूचीमा परेका कम्पनी, उद्योग प्रतिष्ठान र संस्थाको सञ्चालकहरुको पहिचान गर्ने काम गरिरहेको छौ र पहिचान भएपछि उनीहरु विरुद्ध मुद्धा दायर गर्छौ”– विराटनगर वितरण शाखा प्रमुख श्रेष्ठले भन्नुभयो ।
समयमा बिद्युत महशुल नतिरी कालो सूचीमा पर्ने ग्राहकको सख्या एक हजार ५ सय ६७ रहेको र ती ग्राहकहरुबाट असुली गर्न तीन करोड ६६ लाख ५६ हजार बाँकी रहेको प्राधिकरणको विराटनगर शाखाले जनाएको छ ।
कालो सूचीमा परी ठूलो रकम बाकी बक्यौता रहने अधिकाँस ग्राहकहरुमा औद्योगिक प्रतिष्ठानहरु रहेको वितरण शाखाले जनाएको छ । जसमा नेपाल पोलिथिनको पाँच लाख ६२ हजार, रविन प्लाष्टिकको पाँच लाख तीन हजार, कोसी पोलिप्लाष्टिकको पाँच लाख ८४ हजार, जगदम्बा फुड वेयर पाँच लाख २९ हजार, इजीवायर एक्सपोर्टको चार लाख ६८ हजार, स्वदेशी केबलको नौ लाख २७ हजार, पर्शुराम आईरनको चार लाख १० हजार पुराना बकौता असुली गर्न बाँकी रहेको छ ।
प्राधिकरणको विराटनगर वितरण शाखाले गत आर्थिक बर्षमा निर्धारित समयमा बिद्युत महशुल नतिर्ने एक हजार ३४ जना ग्राहकको बिद्युत लाईन काटेको थियो । लाईन काटेपछि अहिलेसम्म नौ सय ११ जना ग्राहकले बाँकी बकौता असुली भएको छ । जसबाट उक्त वितरण शाखाले रु १५ लाख १७ हजार पुरानो बक्यौता असुली गरेको जनाइएको छ ।