प्रकाशित : १ भाद्र २०७५, शुक्रबार ०७:४२

विराटनगर, १ भदौ । ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्धामा उच्च अदालत विराटनगरले तीन जनाका सम्बन्धमा जिल्ला अदालत मोरङकै आदेशलाई सदर गरेको छ ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा रहेका तक्ले भनिने पुण्यप्रसाद लामा, सम्बीरप्रसाद तोलाङ्गे र राजन कुमारका हकमा आज जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

थुनामा रहेका ३० जना अभियुक्तले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै रिहाईको जिकिर गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोवस्तीको १७ नम्बर गरेका थिए । जसमा आज उच्च अदालतमा दुईवटा इजलासमा छुट्टा छुट्टै बहस भएको थियो । अदालतका मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजलासले लामा र तोलाङ्गेका हकमा आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताउनु भयो ।

प्रतिवादी राजन थापाको हकमा भने समय अभावका कारण बहस हुन सकेन । रेग्मीका अनुसार राजन कुमारको हकमा भने न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलासले आदेश दिएको हो । वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय विराटनगरका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठक र जिल्ला सहायक न्यायाधीवक्ता पदमप्रसाद वस्तीले बहस गर्नु भएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारयण चौधरी र उद्धवचन्द्र घिमिरले बहस गर्नु भयो ।

तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालत मोरङले २०७५ साल जेठ ८ गते गरेको आदेश बेरितको नदेखिएको आदेशमा उल्लेख रहेको रजिष्ट्रार रेग्मीले बताउनु भयो । ‘संगठित अपराध निवारण ऐनको दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को देहाय २ ‘क’ बमोजिम जिल्ला अदालतको आदेश बेरितको नदेखिंदा परिवर्तन गर्न नपर्ने र निज प्रतिवादीहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोश रहेछन् भन्न मिल्दैन,’ उच्चको आदेशमा उल्लेख छ ।

उच्चकै न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले १७ नम्बर दर्ता गराएका अन्य पाँच जनाको हकमा कैफियत प्रतिवेदन अलग–अलग बनाएर पेशी चढाउन आदेश दिएको छ । जसमा चार प्रहरी अधिकारी छन् । झुम्का कारागारमा थुनामा रहेका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयबहादुर राउत र प्रतिवादी हेमन्त गौतमका सम्बन्धमा कैफियत प्रतिवेदन अलगअलग बनाएर इजलाशमा पेशी चढाउन आदेश दिएको रजिष्ट्रार रेग्मीले बताउनु भयो । उहाँका अनुसार पाँचै जनाको हकमा यस अघि एउटै लगाउमा कैफियत प्रतिवेदन थियो ।

१७ नम्बर गर्ने प्रहरी कर्मचारीमा पूर्व डीआईजी गोविन्द निरौला, एसएसपीहरु श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरु प्रजित केसी, सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल रहेका छन् । त्यस्तै हेमन्त गौतम, सम्बीरप्रसाद तोलाङ्गे, एलबी भनिने लालबहादुर मगर, टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ्ग, महावीरप्रसाद गोल्यान, आर.के भनिने राजेन्द्र कुमार शाक्य, विरेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, राजन थापा, बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, नरेन्द्र कार्की, मोहन काफ्ले, माधव भनिने मदनप्रसाद घिमिरे, अम्बरमान डंगोल, मदन सिलवाल लगायत रहेको छन् । सुन तस्करी तथा सनम हत्या प्रकरणमा आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालत मोरङमा गत बैशाख १९ गते मुद्धा दर्ता गरिएको थियो ।

पहिलो चरणमा र पूरक अभियोग लगाएर प्रतिवादी बनाइएका मध्ये ३५ जना थुनामा रहेका छन् । साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवाल सहित अन्य अभियुक्तहरु फरार रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३