प्रकाशित : ३० श्रावण २०७५, बुधबार १७:१५

विराटनगर, ३० साउन । मोरङको लेटाङ नगरपालिका ९ जाँते स्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा हालिएको घातक विषादीका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले समिति बनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाको नेत्रृत्वमा पाँच सदस्यीय अनुसन्धान तथा छानविन समिति गठन गरिएको हो । समितिलाई घटनाका बारेमा छानविन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

समिति गठन लगत्तै डीएसपी थापा नेत्रृत्वको टोली घटनास्थलमा पुगेको छ । टोलीले घटनास्थलको अनुगमन गर्दै सबैसंग आवश्यक सोधपुछ गर्न थालेको जानकारी केसीले दिनु भयो ।

यस घटनालाई कसैले पानीमा हानिकारक विषादी मिसाएर मानविय क्षति गराउन खोजेको रुपमा प्रहरीले लिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राई लगायतका जनप्रतिनिधीले घटनास्थलको निरीक्षण पनि गर्दै घटनाको अनुसन्धान र छानविन गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् ।

प्रतिनिधीसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कडा कारवाही गर्न सरकारसंग माग गर्नु भएको छ ।

विद्यालयको ट्यांकीमा हालिएको साइपरमेथिन समूहको साइप्रिन नामक विषादी मिसिएको पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी हिजो बिरामी परेका थिए । बिरामी परेका मध्ये खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको विराटनगर स्थित नोवेल मेडिकल लकेजमा उपचार भइरहेको छ । बिरामी मध्ये अन्य २४ जना मंगलबारे अस्पतालमा उपचार गराएपछि घर फर्किएका छन् ।

विद्यालयका प्रधानाध्यापक खेमराज दुलालले विद्यालयले पनि आफ्नो हिसावबाट घटनाका बारेमा बुझ्ने प्रयास गरिरहेको बताउनु भयो । उहाँका अनुसार बालीनालीमा लागेका किरा नष्ट गर्न प्रयोग गरिने विषादी मिसिएको पानी खाएका विद्यार्थीमा पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, चक्कर लाग्ने लगायतका समस्या देखा परेको थियो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदी नेत्रृत्वको टोलीले पनि आज नोवेलमा उपचाररत विद्यार्थीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।

सुवेदीले विद्यार्थीको उपचारमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले तत्काल घटनाका दोषी पत्ता लगाई कारवाही गर्नका लागि सम्बन्धीत मन्त्रालयमार्फत प्रहरी प्रशासनलाई आग्रह गरिने पनि जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३