प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १६:३४


विराटनगर, २९ साउन । मोरङको लेटाङ नगरपालिका ९ जाँते स्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा मिसाइएको विषादी सहितको पानी पिउँदा बिरामीको हुने विद्यार्थीको संख्या २८ पुगेको छ ।
बिरामी हुने विद्यार्थी लेटाङ ८ र ९ का छन् । प्रधानाध्यापक खेमराज दुलालका अनुसार विषादी हालेको पानी पिउँदा कक्षा १० मा अध्ययनरत पूजा लिम्बू, अनिश राई, रुपा लिम्बू, गोमा गजमेर, कक्षा ९ मा अध्ययनरत धिरज लिम्बू, प्रभा लिम्बू, उर्मिला लिम्बू, मनकुमारी गजमेर, कमला लिम्बू, अञ्जली लिम्बू, दीपा सापकोटा, उज्वल मग्राती, अमृत पौडेल, खुश्वु मिश्र, सृष्टि लिम्बू बिरामी परेका छन् । त्यस्तै कक्षा ८ मा अध्ययनरत युरेन लिम्बू, सुन्दर राई, रिजन सेन्च्युरी, हर्कबहादुर विक, पर्वत आलेमगर, कक्षा ७ मा अध्ययनरत प्रतिमा लिम्बू, सृष्टि निरौला, कक्षा ५ मा अध्ययनरत कृृष्टिना लिम्बू, सिर्जना निरौला, मनिष थापा, महेश राई, कक्षा ३ र २ मा अध्ययनरत चेतन खड्का र सिपरा लिम्बू बिरामी परेका हुन् । दुलालले विहान ११ बजे ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेको गएर हेर्दा साइपरमेथिन समूहको साइप्रिन नामक कीटनाशक विषादीको बट्टा खानेपानी ट्यांकीमा फेला परेको जानकारी दिनु भयो ।
पानी खाएपछि बिद्यार्थी धमाधम बिरामी पर्न थालेका थिए । विषादी मिसिएको पानी कति जनाले खाए भन्ने यकिन नभएपछि विद्यालयले गाउँ भरीनै ‘माइकिङ’ गरेर विद्यालयमा आएर पानी पिउने विद्यार्थीहरुलाई सम्पर्क राख्न र तत्काल उनीहरुलाई उपचारका लागि लैजान सूचना गरेको थियो । विद्यालय प्रशासनले विद्यार्थी र शिक्षकलाई लक्षित गरेर पिउने पानीमा विषादी हाल्ने जस्तो अमानविय कार्य गर्नेलाई पहिचान गरेर तत्काल कारवाहीको दायरामा ल्याउन माग पनि गरेको छ । विद्यालय प्रशासनले विद्यालयसंग रिसिईवी राखेकाहरुले विद्यालय भित्र प्रयोग गरिंदै आएको खानेपानीको ट्यांकीमा विषादी हालिदिएको हुन सक्ने बताएको छ ।
विषादी हालेको पानी खाएका कारण विद्यार्थी बिरामी परेपछि विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ । यस विषयमा अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन र बिरामी विद्यार्थीको उपचारमा सहयोग गर्न विद्यालय नै बन्द गर्नु परेको प्रअ दुलालले बताउनु भयो । कृषि प्राविधिक देवीप्रसाद भट्राईले खानेपानी ट्यांकीमा फेला परेको बट्टामा पाइने विषादी मानव स्वास्थ्यका लागि अत्यन्तै घातक र हानिकारक रहेको बताउनु भयो ।
बालीनालीमा लाग्ने किरा नष्ट गर्नका लागि प्रयोग गरिने उक्त विषादी सेवन गर्दा मानिस लगायत जुनसुकै जीवजन्तुको पनि तत्काल मृत्यु भइहाल्ने उहाँको भनाइ छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म चार सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । विष मिसिएको पानी खाएर बिरामी परेका विद्यार्थीलाई उपचारका लागि उर्लाबारी स्थित मंगलबारे अस्पतालमा लगिएको छ ।
उपचारमा संलग्न चिकित्सक धनबहादुर श्रेष्ठले बिरामी परेर उपचारका लागि आएका मध्ये अवस्था गम्भीर बन्दै गएका चार जनालाई थप उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेजमा पठाइएको जानकारी दिए ।
उहाँका अनुसार खुश्बु, सृष्टि, कमला र मनिषलाई थप उपचारका लागि रेफर गरिएको हो । अन्यलाई मंगलबारे अस्पतालमै राखेर चिकित्सकको निगरानीमा उपचार गर्ने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले विद्यालयको खानेपानी ट्यांकीमा कसले विषादी हालेको हो भन्ने बारेमा खुल्न नसकिरहेको र जति सक्दो चाँडो दोषी पत्ता लगाएर कारवाही गर्ने हिसावमा अनुसन्धान सुरु गरिएको बताउनु भयो ।