प्रकाशित : २८ श्रावण २०७५, सोमबार १५:४६

विराटनगर, २८ साउन । विराटनगर महानगरपालिका कार्यालयमा बम विष्फोट भएपछि महानगरपालिका सहित सबै वडा कार्यालय र मोरङका अन्य सरकारी कार्यालयहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षा व्यवस्था मजवुत बनाउन सबै कार्यालयमा प्रहरीको विशेष टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । प्रहरीले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीमाथि चेकजाँच बढाएको छ ।

तालिम प्राप्त कुकुरबाट पनि चेकजाँच गर्ने काम भइरहेको बताउँदै उहाँले आगामी दिनमा त्यस्ता प्रकारका आवाञ्छित गतिविधी तथा विष्फोटन लगायतका घटनाबाट धनजनको क्षति हुन नदिन प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी दिनु भयो ।

केसीले कार्यालयहरुको सुरक्षार्थ परिचालन गरिएका प्रहरीले सेवा लिन आउने सेवाग्राहीमाथि निगरानी बढाउने, शरीर खानतलासी गर्ने, उनीहरुले बोकेका झोला लगायतका सामान चेकजाँच गर्ने र कुनै पनि शंकास्पद गतिविधी गरेको पाइएमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने बताउनु भयो ।

उहाँका अनुसार सेवाग्राहीको भीड बढी हुने सरकारी कार्यालयसंगै सार्वजनिक स्थल, बैंक तथा वित्तिय संस्थाहरु र मानविय चहलपहल धेरै हुने ठाउँमा प्रहरी ‘मुभमेन्ट’ पनि बढाइएको छ । महानगरपालिका कार्यालय भित्र हिजो दिउँसो बम विष्फोट गराइएपछि विराटनगरमा सुरक्षा चुनौती बढेको निस्कर्षमा सुरक्षा अधिकारीहरु पुगेका छन् । प्रेसर कुकर बम विष्फोट गराएको आशंका गरिए पनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।

विष्फोटबाट कार्यालयको झ्याल र मेयर भीम पराजुलीले चढ्दै आएको को १ झ ४९४ नम्बरको गाडीको पछाडि पट्टीको सिसा फुटेका छन् । मेयर पराजुलीको कार्यकक्ष नजिकै गराइएको विष्फोटले कार्यालयको सोफा र दराज समेत टुक्राटुक्रा भएको थियो । विष्फोटपछि प्रभावित बनेको महानगरपालिकाको काम कारवाही आजबाट सूचारु भएको छ ।

मेयर पराजुलीले महानगर कार्यपालिकाको बैठक बसेर नै विष्फोटका दोषीको पहिचान गरेर तत्काल कारवाही अघि बढाउनु पर्ने माग गरिएको बताउनु भयो ।

एसपी केसीले पछिल्लो अवस्थामा तराईमा भूमिगत गतिविधी गर्दै आएको जयकृष्ण गोइत नेत्रृत्वको तराई जतान्त्रिक मुक्ती मोर्चाले घटनाको जिम्मा लिएपछि त्यसतर्फ पनि अनुसन्धान मोडिएको बताउनु भयो ।

यद्यपी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका नौ जना व्यक्तिहरुसंग पनि आवश्यक सोधपुछ र अनुसन्धान गर्ने कामलाई भने जारी राखिएको उहाँले बताउनु भयो । यस अघि भएका विभिन्न विष्फोटका घटनामा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिएर यस घटनामा पनि उनीहरुको संलग्नता छ की भन्ने बारेमा अनुसन्धान थालिएको एसपी केसीको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बम विष्फोटको घटनाले मोरङ सुरक्षाको हिसावले संवेदनशील छ भन्ने कुराको पुष्टि गरेको बताउनु भयो ।

उहाँले यस घटनालाई लिएर नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेना समेतका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र जनताको जिउधनको सुुरक्षामा प्रभावकारिता बढाउन निर्देशन दिइसकिएको बताउनु भयो ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले प्रदेशका १४ वटै जिल्ला र त्यहाँका सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै प्रहरीलाई हाईअलर्टमा राखिएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३